भाषा बचाउन ट्युसन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भाषा बचाउन ट्युसन

kusunda bhasa

काठमाडौं, १२ माघ । जंगलमै रमाउँथ्यो कुसुण्डा जाति। पछिल्लो समय उनीहरू समाजमा घुलमिल भए। बसाइँसराइ, अन्तरजातीय विवाह हुनथाल्यो। उनीहरूले नेपाली भाषा सिक्न थाले। हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनामा सीमित भए। यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन। २९ भाषा संकटमा छन्। तिनलाई जोगाउन भाषा आयोगले पहल थालेको छ। पहिलो चरणमा कुसुण्डा, बराम र तिलुङ भाषाको ‘ट्युसन’ पढाउन थालिएको छ।

भाषा कुनै पनि जातिको पहिचान र सभ्याताको परिचायक हो। आफ्नो भाषा बिर्सिनु त्यो जाति र राष्ट्रकै लागि ठूलो क्षति हो। २०६८ को जनगणनाअनुसार नेपालमा एक सय २३ वटा भाषा बोलिन्छ। त्यसमध्ये ३७ भाषा लोपोन्मुख छन्। २९ भाषाका वक्ता एक हजारभन्दा कम छन्। तथ्यांक विभागको आँकडामा बराम भाषा बोल्ने जम्मा एक सय ५५ मात्रै छन्। तिलुङ चाहिँ एक हजारको हाराहारीमा र कुसुण्डा बोल्ने २८ जना मात्रै। तर पछिल्लो सर्वेक्षणअनुसार कुसुण्डा बोल्ने तीन जना मात्रै रहेको अनुसन्धानकर्ता उदय आले बताउँछन्। बराम बोल्ने पचासको हाराहारीमा छन् भने तिलुङ चाहिँ दुई जना मात्रै।

‘यी भाषा संरक्षणका लागि केही गरिएन भने एकदुई वर्षमा लोपै भएर जाने खतरा छ,’ भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘ती भाषा नयाँ पिढीलाई हस्तान्तरण गराउने र संरक्षण गर्ने अहिलेको मुख्य चुनौती बनेको छ।’

दाङको लमही नगरपालिकामा कुसुण्डा भाषा पढाइँदैछ। सिक्नेदेखि सिकाउनसम्मका व्यक्ति जुटाउन सजिलो छैन। यो जातिका मानिस विभिन्न ठाउँमा छरिएर बसेका छन्। तिनका केटाकेटी बेग्लाबेग्लै स्कुल जान्छन्। प्युठानदेखि दाङसम्मका कुसुण्डा जातिका नयाँ पुस्तालाई भाषा सिकाउनकै लागि भनेर स्कुल सारिएको छ। उनीहरूलाई स्रोत साधन उपलब्ध गराउने काम पनि आयोगले नै गरेको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);