भेरी बबई आयोजना: १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भेरी बबई आयोजना: १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न

BHERI_BABAI

काठमाडौं, १४ पुस । भेरी बबई डाइभर्सनको बहुउद्देश्यीय आयोजनाको १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखाएको यो भाग अनुमान गरेभन्दा कम र समयभन्दा अगावै सम्पन्न हुन लागेको दाबी गरिएको छ ।

भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्ने हुन्छ । अहिलेका गतिमा काम भएमा आगामी चैत, वैशाखभित्र सुरुङको पूरा हुने दावी आयोजनाले गरेको छ । आयोजना प्रमुख सञ्जिव बरालका अनुसार आयोजनाको भौगर्भिक अध्ययनमा यो काम गर्न निकै जोखिम र चुनौती हुनसक्ने भनेर अनुमान गरिएको भागमा समेत सुरुङ खनेर पार गरी १० किलोमिटर सुरुङ खनिसकिएको छ । हालसम्मको कार्यप्रगति हेर्दा यो आयोजनामा सुरुङतर्फ लागत अनुमानभन्दा कम लागतमा र अनुमानित समय अगावै काम सम्पन्न गर्न सकिने उनको दाबी छ ।

गत वर्षको दशैँको फूलपातीको दिनबाट मगाइएको टनेल बोरिङ मेसिन (टीबीएम) ले काम सुरु गरिएको थियो । काम सुरु भएको एक वर्ष दुई महिनामा १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । आयोजना प्रमुख बरालले भने, ‘अहिलेसम्मको काम हेर्दा निकै राम्रो उपलब्धि हासिल भएको छ । अनुमानभन्दा कम रकमसँगै कम समयमा काम सम्पन्न हुनसक्ने देखिएको छ ।’

सुरुङको पाँच किलोमिटरदेखि सात किलोमिटरसम्मको क्षेत्रलाई धेरै चुनौती र जोखिम देखिएको क्षेत्र भनेर आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा देखाइएको थियो । भौगर्भिक अध्ययनले देखाएको चुनौतीका क्षेत्र पार भएपछि अब खासै समस्या नआउँला भन्ने विश्वास छ । समस्या नदेखिएमा निर्धारित समयभित्रै सुरुङ पूरा हुने आयोजनाले जनाएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);