भेरी–बबई आयोजना : सुरुङको ‘ब्रेक थ्रू’ चैतभित्रै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भेरी–बबई आयोजना : सुरुङको ‘ब्रेक थ्रू’ चैतभित्रै

bheri-babai

वीरेन्द्रनगर, १४ चैत ।  राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण १ वर्षअगावै सम्पन्न हुने भएको छ । नेपालमै पहिलोपटक टनेल बोरिङ मेशिन (टीबीएम)को प्रयोग गरिएको उक्त आयोजनाको सुरुङको यही महीनाभित्रै ‘ब्रेक थ्रू’ गर्न लागिएको छ ।

आगामी वर्षको चैतभित्र सुरुङको काम सक्ने लक्ष्य राखेको आयोजनाले १ वर्षपहिले नै लक्ष्य हासिल गर्ने देखिएको छ । काम थालेको ३४ महीनामा १२ हजार २१० मिटर सुरुङमध्ये आयोजनाले ११ हजार ९ सय ४४ मिटर सुरुङ खनिसकेको छ । बाँकी २ सय ६६ मिटर सुरुङ चैत मसान्तभित्र सक्ने आयोजनाका निर्देशक सञ्जीव बरालले जानकारी दिए ।

२०७३ कात्तिकदेखि टीबीएममार्फत काम शुरू गरेको आयोजनाको टनेल निर्माणको जिम्मा चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रूप लिमिटेड (कोभेक)ले लिएको छ । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।

आयोजना सम्पन्न हुँदासम्म यसको लागत ३३ अर्ब १९ करोड पुग्ने भएको छ । आयोजनाको सुरुङ निर्माणका लागि हालसम्म ७ अर्ब खर्च भइसकेको निर्देशक बरालले जानकारी दिए । सन् २०२० भित्र सम्पूर्ण भौतिक निर्माण सकेर आयोजना सञ्चालनमा ल्याइने दाबी उनले गरे । आयोजनाको गुरुयोजना अनुसार भेरीको पानी बबईमा खसाल्न सुर्खेतको चिप्लेमा १ सय १४ मिटर लामो र १४ मिटर अग्लो बाँध बनाइनेछ ।

उक्त आयोजना तोकिएको म्यादअगावै सम्पन्न हुने भएपछि कर्णाली प्रदेश सरकारले ‘विकासको ढोका खुल्ने’ बताउँदै आएको छ । सुरुङ बनाउन नेपालमै पहिलोपटक भित्रिएको टीबीएमलाई कर्णालीका आयोजनामा पनि प्रयोग गरिने प्रदेश सरकारको भनाइ छ ।

उक्त आयोजनामा सुरुङ निर्माणका लागि करीब ७ जना नेपाली र ८० जना चिनियाँ कामदारले दुई सिफ्टमा काम गरिरहेका छन् ।

आयोजनाको बाँकी ९ सय मिटर सुरुङ निर्माणको कामसँगै ‘टनेल एक्जिट’का लागि भेरीगंगाको चिप्लेमा प्लेटफर्मसमेत तयार पारिएको छ । टनेल निर्माण सम्पन्न भएको ३ महीना फिनिसिङसँगै विद्युत्गृह र बाँध निर्माण तीव्र पारिने आयोजनाले बताएको छ ।  यो समाचार आजको अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);