एजेन्सी, ३ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए ।
चिनियाँ ‘ग्रेट हल अफ द पिपुल’मा आयोजित समारोहमा राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ‘हालको एकदलीय राजनीतिक प्रणालीबाट विचलित नहुने र अरु कुनैपनि मुलुकबाट आदेश लिएर काम नगर्ने उल्लेख गरे ।
राष्ट्रपति सीले‘चीनको कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको प्रतिरुप भएको भन्दै यो चिनियाँ विशेषता सहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि भएको बताए । चिनियाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा शुभारम्भ भएको थियो ।
तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनियाँ अर्थतन्त्रले अनेक संकटको सामना गर्नु परिरहेको छ । दुवै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ ।
संयुक्तराज्य अमेरिकामाथि प्रत्यक्ष संकेत नगरी राष्ट्रपति सीले चीन कुनैपनि मुलुकका लागि चुनौती नभएको तर, यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भुल हुने टिप्पणी गरे ।