सीमा क्षेत्रमा बनाइएका बाँधको दीर्घकालिन समाधान गर्न भारत प्रतिबद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सीमा क्षेत्रमा बनाइएका बाँधको दीर्घकालिन समाधान गर्न भारत प्रतिबद्ध

काठमाडौं, ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा क्षेत्रमा बनाइएका बाँधका कारण उत्पन्न समस्या दीर्घकालिन रुपमा समाधानका लागि भारत प्रतिबद्ध रहेको बताएका छन् ।

 

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादर देउवासँगको बिहिबार वान टु वान वार्ता पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भरतीय प्रधानमन्त्री मोदीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

 

मोदीले बाढी प्रभावित क्षेत्रमा भारतले सक्दो सहयोग गर्ने भन्दै दुई देशबीचको हितलाई केन्द्रविन्दुमा राखेर सिमावर्ती क्षेत्रमा देखिएको डुबान समस्या समाधान गर्ने सहमति भएको जानकारी दिए ।

 

भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, स्थायित्व र आर्थिक समृद्धि भारतीय चाहना रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधानलाई सफलतापूर्वक कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्दै उनले सबैको भावनालाई समेटेर संविधानको सफल कार्यान्वयन गर्न सुझाव दिए ।

 

प्रधानमन्त्री मोदीले नेपालमा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै त्यसले प्रजातन्त्र र स्थायित्वलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

 

भारतीय प्रधानमन्त्री मोदीले नेपालमा भारतको सहायतामा चलिरहेका विकास परियोजनाहरु हुलाकी रोड, सीमापार ऊर्जा ‘ट्रान्समिसन लाइन’, संयुक्त चेकपोस्टमाथि काम भइरहेकामा खुशी व्यक्त गरे ।

 

उनले निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि आफ्नो प्रयास अझ बढाइने आश्वासन दिए । । दुई देशको सुरक्षा आपसमा निर्भर रहेको भन्दै मोदीले रक्षा क्षेत्र र सुरक्षामा सहयोग द्विपक्षीय साझेदारीको महत्वपूर्ण पहल भएको बताए ।

 

संविधान संशोधन गर्ने प्रतिवद्धता
पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमै सबैलाई स्विकार्य हुनेगरी संविधान संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले दुई मुलुकबीच विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता औल्याए ।

 

प्रधानमन्त्री देउवाले लोकतन्त्र र विकास दुवै देशको चाहना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न नेपाल सधैं लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विगतमा अघि बढ्न नसकेको जलविद्युत आयोजनाहरुको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न भारत सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

 

प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासमा भारतले गरेको सहयोगको पनि खुलेर प्रशंशा गरे । प्रधानमन्त्री देउवाले नेपाल भारतबीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);