इरानले आफ्ना आक्रमणबाट भएको क्षति, नोक्शानी तथा मानवीय क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने खाडी मुलुकहरूको माग अस्वीकार गरेको छ । इरानले अमेरिकी सैन्य अखडा तथा सम्पत्तिमाथि गरिएका आक्रमणबाट प्रभावित खाडी सहयोग परिषद् (जीसीसी) आवद्ध मुलुकहरूले क्षतिपूर्ति माग्नु उचित नभएको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले आईतवार आयोजित नियमित पत्रकार सम्मेलनमा खाडी सहयोग परिषद्ले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मार्फत अघि सारेको क्षतिपूर्तिको माग अस्वीकार गरेका हुन् । उनले इरानविरुद्धको सैन्य आक्रमणमा सक्रिय रूपमा सहभागी भएका तथा आक्रमणकारीलाई आफ्नो भूभाग प्रयोग गर्न दिएका क्षेत्रीय मुलुकहरूले इरानसँग क्षतिपूर्ति माग्न नसक्ने तर्क गरे । यसअघि शुक्रवार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा खाडी सहयोग परिषद्का महासचिव जासेम मोहम्मद अलबुदाइवीले इरानलाई खाडी मुलुकमाथि भएका आक्रमणको पूर्ण जिम्मेवार ठहर गर्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए । बहराइनको अनुरोधमा बोलाइएको उक्त बैठकमा उनले फेब्रुअरी २८ यता इरानले खाडी मुलुकहरूविरुद्ध सात हजारभन्दा बढी क्षेप्यास्त्र तथा मानवरहित हवाई उपकरण (ड्रोन) प्रहार गरेको दाबी गरेका थिए । अलबुदाइवीले इरानका आक्रमणबाट भएको भौतिक क्षति, आर्थिक नोक्शानी तथा मानवीय क्षतिको जिम्मेवारी इरानले लिनुपर्ने बताएका थिए । उनले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रश्ताव ६१–१ अनुसार इरानबाट पूर्ण क्षतिपूर्ति दिलाउन सुरक्षा परिषद्समक्ष मागसमेत प्रस्तुत गरेका थिए ।
तर इरानी प्रवक्ता बघाईले उक्त मागको प्रतिवाद गर्दै पछिल्लो ४० दिनको युद्धका क्रममा इरानमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भएका क्षति र नोक्शानीमा क्षेत्रीय मुलुकहरूको भुमिका रहेको दाबी गरे । उनले त्यसका पर्याप्त प्रमाण रहेको उल्लेख गर्दै इरानमाथिको सैन्य आक्रमणमा संलग्न वा सहयोग गर्ने मुलुकहरूले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताए । उनकाअनुसार अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घीय महासभाको प्रश्ताव ३३१४ अनुसार अमेरिका–इजरायलको सैन्य आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्ने कुनैपनि मुलुक आक्रमणकारीको सहयोगी मानिने र त्यसबाट भएका अपराधको जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । बघाईले इरान आफैँ क्षतिपूर्तिको माग गर्ने पक्ष रहेको स्पष्ट पार्दै युद्धका क्रममा भएको क्षति र नोक्सानीको आवश्यक अभिलेखीकरण तथा दस्तावेजीकरण गरिसकेको जानकारी दिए । इरानले आफ्नो क्षतिको विवरण सङ्कलन गरी त्यसको जिम्मेवारी सम्बन्धित पक्षबाट लिन आवश्यक प्रक्रिया अघि बढाएको उनको भनाइ थियो । इरानी प्रवक्ताले आफ्नो देशले गरेका प्रतिकारात्मक कारबाही पूर्ण रूपमा आत्मरक्षाका लागि भएको दाबी पनि गरे । उनकाअनुसार ती कारबाही विशेषगरी इरानमाथि आक्रमण गर्न प्रयोग गरिएका अमेरिकी सैन्य अखडा तथा सैन्य सम्पत्तिमा मात्र केन्द्रित थिए । इरानले क्षेत्रीय मुलुकहरूको सार्वभौमिकतामाथि कुनै आक्रमण नगरेको उनको जिकिर थियो । गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा संयुक्त सैन्य आक्रमण शुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा पश्चिम एशियामा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका शृङ्खला सञ्चालन गरेको थियो । युद्धका क्रममा इरानले विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्यमा समेत आफ्नो नियन्त्रण कडा बनाएको थियो । यस घटनाक्रमले क्षेत्रीय सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व ऊर्जा आपूर्तिमा थप तनाव सिर्जना गरेको छ । यसरी इरान र खाडी मुलुकबीच क्षतिपूर्तिको विषयलाई लिएर आरोप–प्रत्यारोप बढ्दै जाँदा पश्चिम एशियाको सुरक्षा अवस्था थप जटिल बन्ने देखिएको छ ।
खाडी मुलुकको क्षतिपूर्ति माग इरानद्वारा अस्वीकार
ताजा समाचार
खाडी मुलुकको क्षतिपूर्ति माग इरानद्वारा अस्वीकार
५१ सेकेंड अघि
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
१६ घन्टा अघि
जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
१६ घन्टा अघि
राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना
१६ घन्टा अघि




