जनकपुरधाममा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८३, सोमबार

जनकपुरधाममा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व

काठमाडौँ ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ ।
चार दिनसम्म श्रद्धा, भक्ति र आस्थाका साथ मनाइएको छठ पर्वको अन्तिम दिन सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै पर्व सम्पन्न भएको हो । छठ पर्वको अन्तिम दिन बिहानैदेखि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको थियो । विशेषगरी गंगासागर, धनुषसागर, अरगज्जा पोखरी, रत्नसागरलगायतका पोखरीहरूमा व्रतालु तथा भक्तजनहरू बिहानैदेखि पूजाका सामग्रीसहित उपस्थित भएका थिए । उदाउँदो सूर्यको प्रतीक्षामा जलाशयमा पसेका व्रतालुहरूले सूर्यको पहिलो किरण देखिएसँगै विधिपूर्वक अघ्र्य अर्पण गरेका थिए । छठ पर्वको मुख्य आकर्षणका रूपमा रहेको बिहानको अघ्र्यका लागि रातिदेखि नै श्रद्धालुहरू घाटमा जम्मा भएका थिए । परिवारका सदस्य तथा आफन्तजनको उपस्थितिमा व्रतालुहरूले सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गरेका थिए । यसअघि छठ पर्वको तेस्रो दिन आईतवार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिएको थियो । त्यसपछि रातभर जाग्राम बसेर भजनकीर्तन तथा छठी माताको आराधना गरेका व्रतालुहरूले सोमवार बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य अर्पण गरेका हुन् ।
जनकपुरधामका गंगासागर, धनुषसागर, महाराजसागर, अग्निकुण्ड, गोरधोई पोखरी, दशरथ तलाउलगायतका जलाशयहरूमा छठ पर्वको विशेष रौनक देखिएको थियो । छठ पर्वलाई लक्षित गरी पोखरी तथा घाटहरू सरसफाइ, सजावट र प्रकाश व्यवस्थासहित सिँगारिएका थिए । घाटहरूमा आकर्षक सजावट गरिनुका साथै पूजाका लागि आवश्यक व्यवस्थापनसमेत मिलाइएको थियो । स्थानीय आयोजक समिति, सुरक्षा निकाय तथा स्वयंसेवकहरू पर्वलाई व्यवस्थित बनाउन खटिएका थिए । छठ पर्वका अवसरमा व्रतालुहरूले बाँसबाट निर्मित ढाकी, सुपली तथा अन्य परम्परागत सामग्रीमा नरिवल, केरा, उखु, अदुवा, बेसार, विभिन्न मौसमी फलफूल तथा घरमै तयार पारिएका ठकुवा, भुसुवालगायतका प्रसाद राखेर सूर्यदेवलाई अर्पण गरेका थिए । शुद्धता, पवित्रता र कठोर नियमको पालना गर्दै मनाइने यस पर्वमा घरघरमा प्रसाद तयार पार्ने र परिवारका सदस्य तथा आफन्तजन मिलेर घाटसम्म पु¥याउने परम्पराले पारिवारिक तथा सामाजिक एकताको सन्देशसमेत दिएको थियो । चार दिनसम्म मनाइने छठ पर्व नहाय–खायबाट शुरु भएको थियो । पहिलो दिन व्रतालुहरूले पवित्र स्नान गरी चोखो खाना खाएर व्रतको सङ्कल्प गरेका थिए । दोस्रो दिन खरना विधिअन्तर्गत दिनभर उपवास बसेर साँझ दूध र सख्खरबाट बनाइएको खीर तथा रोटी प्रसादका रूपमा ग्रहण गरेका थिए । त्यसपछि शुरु भएको निर्जला व्रतलाई व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर निरन्तरता दिएका थिए । अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत सम्पन्न भएको हो ।

Leave a Reply