अतिक्रमणले नेपाली भूभाग खुम्चँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अतिक्रमणले नेपाली भूभाग खुम्चँदै

sima

काठमाडौं, ६ असोज । ६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भूभाग कब्जा गरेको हो। नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ।

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६ सय ६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताए। खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको उनको दाबी छ। उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा-कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको छ। भारतले सन् १८५६ देखि लिम्पियाधुरा कब्जा गरेको हो। लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन।

२०३२ सालसम्मका नेपालका नक्साले पनि लिम्पियाधुरा नेपालकै भूभाग रहेका देखाउँछन्। नापी विभागले २०३६ मा गरेको नापीपछि तयार पारेको नक्सामा लिम्पियाधुरा क्षेत्रको ३ सय १० वर्गकिलोमिटर क्षेत्र हटाएर कालापानी, लिपुलेकसम्म मात्र राखिएको सीमाविद् श्रेष्ठ बताउँछन्।

कालापानी-लिपुलेकको ६२ वर्गकिलोमिटर भूभाग भारतले सेना राखेर कब्जा गरेको छ। भारतमा बनाइने नेपालको नक्सामा कालापानी र लिपुलेक नेपालमा छैनन्।

नेपालको नक्सामा नदेखाइएको लिम्पियाधुरा-कालापानी क्षेत्रमा नै ३ सय ७२ वर्गकिलोमिटर जग्गा भारतले कब्जा गरेको छ। कालापानी-लिम्पियाधुरापछि सबैभन्दा बढी सुस्ता क्षेत्रमा भारतले नेपाली भूभाग कब्जा गरेको छ। नवलपुरको सुस्तामा १४ हजार ५ हेक्टर जग्गा अतिक्रमित छ।

कञ्चनपुरमा नै ९ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ। झापामा ८, सप्तरीमा ७, पर्सामा ५, ताप्लेजुङ र बर्दियामा ४-४, इलाम, मोरङ, सुनसरी र कैलाली ३-३, पाँचथर, चितवन, रूपन्देही, बाँके, सिरहा, महोत्तरी, सर्लाही, बारामा २-२ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ। दार्चुला, दाङ, कपिलवस्तु, नवलपरासी र रौतहटमा १-१ स्थानमा नेपाली जमिन अतिक्रमित छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);