सामाजिक सञ्जालको जालोमा फस्दै किशोरकिशोरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सामाजिक सञ्जालको जालोमा फस्दै किशोरकिशोरी

social media

काठमाडौं, ६ असोज । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन्। उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले ।

एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए। त्यसको कारण थियो— १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालयसमेत परिवर्तन गरिदिए।

अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले प्रेमिकासँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ट्याग गरिदिए। तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुवा महानगरीय प्रहरी अपराध महाशाखामा छोरीलाई लिएर उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ।

२०७३ चैत १७ गते सामाखुसीस्थित प्रहरी विद्यालयमा कक्षा आठमा अध्ययनरत कुन्दन थापाको विद्यालयको छतबाट खसेर मृत्यु भयो। थापाको मृत्युपछि गठित छानबिन समितिले सहपाठीसँग बदला लिन १४ वर्षीय कुन्दनले फेसबुकमा नक्कली आइडी खोलेर अश्लील सामग्री राखेको घटना खुलेपछि अत्तालिएर ‘आत्महत्या’ गरेको जनाएको थियो।

अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उन्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाअन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ।’

महाशाखाका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर हुने अपराधका घटना बढेका छन् । आर्थिक वर्ष २०७२/०७३ मा साइबर अपराधसम्बन्धी आठ सय ३० वटा उजुरी दर्ता भएको थियो । तीमध्ये २३ वटा मुद्दा अदालती प्रक्रियामा अघि बढेको छ। आर्थिक वर्ष २०७३/०७४ मा साइबर अपराधसम्बन्धी उजुरी संख्या बढेर एक हजार एक सय ९७ पुग्यो। तीमध्ये २६ वटा मुद्दा अदालतमा दायर भएको थियो ।

आर्थिक वर्ष २०७४÷०७५ मा यस्ता उजुरी एक हजार चार सय ८२ परेका थिए । तीमध्ये महाशाखाले ६९ वटा मुद्दा अदालतमा दायर गरेको थियो। महाशाखाका अनुसार सबैभन्दा धेरै साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगबाट हुने गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी ५० मुद्दा दायर गरिएको छ।

यस्तै एसएमएसबाट धम्की दिएका ११ वटा मुद्दा दर्ता भएका छन् । ह्याकिङसम्बन्धी दुई, एसएमएस लट्री फ्रन्डसम्बन्धी र युटुब दुरुपयोगसम्बन्धी दुईवटा मुद्दा दर्ता भएका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);