घरमै असुरक्षित बालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

घरमै असुरक्षित बालिका

rape

इलाम, ६ असोज ।  देउमाई नगरपालिकाकी १३ वर्षीया बालिकालाई घरज्वाइँ बसेकै फुपाजुसमेतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको उजुरी शुक्रबार जिल्ला प्रहरी कार्यालय इलाममा प-यो। आफ्नी नातिनीमाथि फुपाजुसहित ११ जनाले विभिन्न समयमा बलात्कार गरेको भन्दै हजुरबुबाले उजुरी दिएपछि प्रहरीले नौजनालाई पक्राउ गरेको छ। आठ महिनाको गर्भ बोकेकी ती बालिका सुरक्षा खोज्दै सदरमुकाम आएकी छन्। बलात्कार आरोपमा पक्राउ परेका पुरुष १९ देखि ६० वर्षसम्मका छन्। आठ महिनाको गर्भपतन गराउन नमिल्ने भएकाले उनलाई सुरक्षित प्रसूति गराउनुपर्ने बाध्यता आइलागेको प्रहरीले जनाएको छ।

गत जेठमा इलाम नगरपालिका–९ का ३० वर्षे सूर्यमान बस्नेत आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परे। बस्नेतले ११ वर्षीया छोरीमाथि गरेको कुकृत्य लुकाउन अर्की ६ वर्षीया छोरीलाई निर्घात कुटपिट गरी गम्भीर घाइतेसमेत बनाए। बस्नेत अहिले पुर्पक्ष थुनामा छन्। आर्थिक रूपले ज्यादै दयनीय परिवारका दुवै दिदीबहिनीलाई माइती नेपालले उद्धार गरी काठमाडौं लगेको छ। ‘घरमा बस्ने वातावरण नभएपछि दुवै छोरीलाई पढाउने जिम्मेवारी माइती नेपालले लिएको छ,’ पहिला बालिकाले पढ्ने गरेको पोखरी आधारभूत विद्यालयका एक शिक्षकले भने।

त्यस्तै बलात्कारका कारण ६ महिनाको गर्भ बोकेकी सूर्याेदय नगरपालिकाकी १४ वर्षीया बालिका जेठमै महिला तथा बालबालिका कार्यालयको शरणमा पुगिन्। उनको किटानी उजुरीपछि प्रहरीले पक्राउ गरेका चार पुरुषमा उनका हजुरबुबादेखि दाजु–भाइसमेत छन्। पीडितकी आमाले छोरीलाई उनकै मामा, हजुरबुबा, काका–बडाबाका छोरालगायतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको बयान दिइन्। केही समय इलाम सदरमुकामस्थित आकस्मिक उद्धार गृहमा बसेकी ती बालिकाको गर्भपतन गराइयो। भदौ ९ गते ती बालिकालाई काठमाडौंस्थित रक्षा नेपालले लगेको छ।

बालिकाहरू घरपरिवारका सदस्यबाटै बलात्कृत भएका घटना पछिल्लो समय बढ्दै गएका छन्। बुबा, हजुरबुबा, दाजुभाइ, छिमेकी, मामा, फुपाजुलगायतबाट बालिका बलात्कृत भइरहेका छन्। आर्थिक अभाव र चेतनास्तर निम्न भएका परिवारका बालिका परिवारकै सदस्यबाट बलात्कृत भएको प्रहरीमा परेको उजुरीबाट देखिन्छ ।

प्रहरी तथ्यांकअनुसार शिक्षा र चेतनाका दृष्टिले अन्यभन्दा अघि रहेको इलामका बालिका घरपरिवारकै पुरुषबाट सुरक्षित देखिँदैनन्। बालिकालाई फकाएर, धम्क्याएर र सहमतिमै करणी गर्नु पनि बलात्कार नै हो भन्ने चेतना नहुँदा यो समस्या झन्–झन् गम्भीर बन्दै गएको जानकार बताउँछन् । जो आफू पीडित भएको आवाज उठाउन सक्दैन, अन्याय र अपराध भएको थाहा पाउँदैनन्, त्यसैको फाइदा अरूले उठाउने गरेको अधिकारकर्मी बताउँछन्। जबसम्म समाजमा चेतनाको विकास हुँदैन तबसम्म यस्ता घटना बढेर जाने उनीहरूको भनाइ छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);