बलात्कारको बढ्दो ग्राफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलात्कारको बढ्दो ग्राफ

rape kishori

काठमाडौं, २७ भदौ । गत बिहीबार ललितपुर इमाडोलस्थित डेराबाट हिँडेका दुईमध्ये एक बालिकामाथि बलात्कार भयो । महानगरीय प्रहरी परिसर काठमाडाैं र प्रहरी वृत्त कीर्तिपुरको टोलीले आइतबार बिहान एक बालिकालाई बल्खुमा फेला पारेका थियो भने अर्की बालिकालाई कीर्तिपुरबाट उद्धार गरेको थियो । ती बालिका बलात्कार गरेको आरोपमा कैलालीको घोडाघोडी १ बेलार घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय हेमबहादुर खत्री पक्राउ परे।

बिहीबार घरबाट हिँडेका ती दुई बालिकालाई खत्रीले बसमा यात्रा गर्दा बानेश्वरमा चिनजान गरी आफ्नो कोठामा लगेर बलात्कार गरेको प्रहरी दाबी छ । खत्रीले कीर्तिपुरस्थित आफ्नो कोठामा लगेपछि बहिनीलाई बलात्कार गरेको दिदीले प्रहरीमा उजुरी गरेकी थिइन् । खत्री अहिले प्रहरी हिरासतमा छन्।

भदौ ९ गते साँझ काठमाडौं नेपालटारस्थित एक खाजाघरमा कार्यरत १४ वर्षीया बालिका बलात्कृत भइन् । नियमित खाजा खान आउने बाजुरा स्थायी घर भएका साजन बोहोरालाई ती बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परे । ती बालिकालाई खाजा घरकै शौचालयमा लगेर बोहोराले बलात्कार गरेको भन्दै खाजाघरकी साहुनीले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरी थियो । शौचालयबाट बाहिर निकालेर सोधपुछ गरेपछि किशोरीले आफूलाई युवकले बलात्कार गरेको बताएकी थिइन्।

साउन २६ गते काठमाडौं गोकर्णेश्वरमा ९ वर्षकी बालिका बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिकाका ४० वर्षीय राकेश श्रेष्ठलाई पक्राउ गरेको थियो । बौद्ध प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राईका अनुसार शौचालयमा लगेर ९ वर्षीय बालिकालाई बलात्कार गरेको उजुरी परेपछि श्रेष्ठ पक्राउ परेका हुन्।

त्यसको एक हप्ताअघि काठमाडौं जोेरपाटीमा सुस्त मनस्थितिकी बालिका बलात्कृत गरेको आरोपमा हरिप्रसाद तिमल्सिना पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार ५९ वर्षीय तिमल्सिनाले आफ्नै घरमा भाडामा बस्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेका हुन्।

साउन १२ गते बलात्कार अभियोगमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय सतुंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्वय रामशरण पोखरेल र चन्द्रबहादुर पछाई पक्राउ परेका थिए । कलंकीको आशीर्वाद गेस्टहाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार बलात्कारका घटना बढ्दो क्रममा छ । परिसरका अनुसार आर्थिक वर्ष २०७२–७३ मा एक सय आठ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३–०७४ मा एक सय ४३ वटा र २०७४–२०७५ मा एक सय ४५ वटा मुद्दा दर्ता भएका छन् । ललितपुरमा आर्थिक वर्ष २०७१–०७२ मा १७ वटा, ०७२–०७३ मा ११ वटा र ०७४ असार मसान्तसम्ममा १० वटा उजुरी परेका थिए । तर भक्तपुरमा यसको दर घट्दो छ।

भक्तपुरमा २०७१–७२ मा २१, २०७२–७३ मा १३ र २०७३–७४ मा ११ बलात्कारका घटना भएका छन् । विगत तीन वर्षको तथ्यांक हेर्दा २०७२–०७३ मा देशभरबाट बलात्कारका एक हजार ९३ वटा उजुरी परेका थिए । त्यस्तै २०७३–०७४ मा एक हजार एक सय ३७ र २०७४–०७५ मा एक हजार चार सय ८० उजुरी परेका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);