प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छः महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८३, सोमबार

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छः महासचिव पोखरेल

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताउनुभएको हो । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेको बताउनु भयो । प्रधानमन्त्रीले संसद्मा सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएपछि त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति भने नसच्याएको पोखरेलको आरोप छ । नेपाल र भारतबीच सीमा समस्याबारे दुवै पक्षबीच दस्तावेजीकरण भइसकेको उल्लेख गर्दै उहाँले सीमा विवाद नेपालको आफ्नै सरोकारको विषय भएको बताउनु भयो । यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्नेमा उल्टै नेपालको दाबी कमजोर पार्ने अभिव्यक्ति दिएको उहाँको भनाइ छ ।

उहाँले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपाल–भारतबीच रहेका समस्याहरू, विशेषगरी सीमा विवाद समाधानको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनु भयो । प्रधानमन्त्रीले विगतमा आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्शा राखेर सन्देश दिन खोजेको प्रसंग उल्लेख गर्दै पोखरेलले अहिलेको मुख्य दायित्व नेपालको वर्तमान सीमाङ्कनलाई सुरक्षित गर्नु रहेको बताउनु भयो । ग्रेटर नेपालको विषय इतिहाससँग जोडिएको भएपनि पछिल्लो समयको सीमाङ्कनको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उहाँको भनाइ छ । यसैगरी पोखरेलले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीप्रति पनि आलोचना गर्नुभयो । आफ्नै पार्टीसँग संवाद गर्न छाडेका प्रधानमन्त्रीबाट प्रतिपक्षी दलहरूसँग संवादको अपेक्षा गर्न नसकिने उहाँको टिप्पणी छ । प्रधानमन्त्रीको कार्यशैली स्वाभाविक रूपमा लोकतान्त्रिक नभएको भन्दै उहाँले त्यसलाई अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादीको संज्ञा दिनुभयो । लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक हुने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गर्नुभयो ।

Leave a Reply