जोशी फर्किएपछि सर्वोच्चमा सकस | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

जोशी फर्किएपछि सर्वोच्चमा सकस

deepak raj joshi

काठमाडौं, २७ भदौ । वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएपछि बिदा बसेका जोशी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहालीसँग सर्वोच्च फर्केका हुन् ।

प्रधानन्यायाधीश मिश्रले मंगलबार जोशीलाई पेशी नतोकेपछि उनको आगमन थप जिज्ञासाको विषय बनेको छ । अरु सबै न्यायाधीशलाई भने मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो।तत्कालीन कामु प्रधानन्यायाधीश जोशी संसदीय समितिबाट अनुमोदन नभएपछि उनले राजीनामा गर्ने अनुमान गरिएको थियो । तर जोशी लामो घरबिदा बसेर सोमबार सर्वोच्च फर्केका हुन् ।

मंगलबार कार्यालय पुगे पनि न्यायसम्पादनको जिम्मेवारी नतोकिएपछि जोशी हाजिरी पुस्तिकामा हस्ताक्षर गरेर बेलुका यत्तिकै घर फर्किए । सोमबार भने जोशीले आफू मुद्दा सुनुवाइमा सहभागी हुने भनाइ राखेका थिए ।

प्रधानन्यायाधीश मिश्र जोशीका विषयमा ‘पर्ख र हेर’को अवस्थामा छन् । सर्वोच्चका एक न्यायाधीशका अनुसार सर्वोच्चकै कतिपय न्यायाधीशबाट जोशीबारे ‘पुनर्विचार गर्न’ सुझाव दिइएको छ । मर्यादाक्रममा माथि रहेका केही न्यायाधीशले जोशीलाई ‘वरिष्ठ’ को हैसियतमा इजलासको जिम्मेवारी दिँदा बाहिर जाने सन्देशको ख्याल राख्न प्रधानन्यायाधीश मिश्रलाई सुझाएका थिए।

उनीहरूले इजलासमा मर्यादाक्रमको विषयमै जटिलता आउन सक्ने भन्दै सुझाव दिएका छन् । जोशी नवनियुक्त प्रधानन्यायाधीशलाई स्वागत गर्न चेम्बरमा देखेपछि केही न्यायाधीश सोमबार चाँडै बाहिरिए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार