काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलन सफतापूर्वक सम्पन्न भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजिल्याउन पनि महत्वपूर्ण भूमिको खेलेको स्पष्ट पारे ।
सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समिक्षा बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन पनि सो सम्मेलनले योगदान दिएको बताए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनबाट पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय प्राथमिकतालाई स्थापित गराउन पनि सम्मेलन सफल भएको दावी गरे ।
बिमस्टेक मूल तयारी समितिका अध्यक्ष समेत रहेका उनले सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
समिक्षा बैठकले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँगको द्धिपक्षीय भेटवार्ता पनि फलदायी रहेको निष्कर्ष पनि निकालेको छ ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्रालय, सुरक्षा निकाय, संचारकर्मीलगायतलाई धन्यवाद पनि व्यक्त गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
गत भदौ १४ र १५ गते काठमाडौंमा आयोजित बिमस्टेक चौंथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएको थियो ।
सम्मेलनले नेपालको प्राथमिकतामा रहेको पर्वतीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने लगायतका प्रस्तावलाई पारित गराउन सफल भएको भन्दै प्रधानमन्त्री ओलीको प्रशंशा गरिएको छ ।