१८ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

१८ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न

काठमाडौं, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

राजमार्ग, रेलमार्ग, जलमार्ग र विद्युत प्रशारण लाईनमार्फत् सदस्यहरुलाई जोड्ने विषयमा जोड दिँदै शुक्रबार बिमस्टेक शिखर सम्मेलन सम्पन्न भएको हो ।

बिमस्टेक शिखर सम्मेलनले सदस्य राष्ट्रहरुलाई जोड्ने सम्बन्धको रुपमा राजमार्ग, रेल मार्ग, जलमार्ग र विद्युत प्रशारण निर्माणका लागि जोड दिने साझा प्रतिवद्धतासहितको काठमाडौं घोषणा पत्र जारी गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

सम्मेलन सकिएलगत्तै उनले पत्रकार सम्मेलन गरी सम्मेलनको मुख्य जोड राजमार्गमार्फत् सदस्य राष्ट्रहरुलाई जोड्ने विषयमा केन्द्रित रहेको पनि स्पष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले शिखर सम्मेलनले सदस्यहरुबीचको १८ बुँदे घोषणा पत्र कार्यान्वयन र त्यसका लागि आवश्यक आर्थिक कोष स्थापनाका लागि छिट्टै कार्यदल बनाउने सहमति पनि गरिएको बताए ।

कार्य दलले बिमस्टेकको गुरुयोजनालाई अन्तिम रुप दिएर १८ बुँदे काठमाडौं घोषणा पत्र लागू गर्ने मन्त्री ज्ञवालीले बताए । बिमस्टेकको गुरुयोजना बनाउने काम सुरु गरिएको छ । त्यसलाई छिट्टै अन्तिम रुप दिने गरी कामलाई अघि बढाउन आवश्यक पहल गर्ने जिम्मेवारी बिमस्टेक सचिवालयलाई शिखर सम्मेलनले दिएको छ ।

शिखर सम्मेलनले गरिवी र आतंकवादीको अन्त्यका लागि साझा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । आतंकवाद नियन्त्रणका लागि सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने कुरालाई शिखर सम्मेलनले जोड दिएको परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।

शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीचको दिगो विकासका लागि पर्यटकीय पर्यावरण क्षेत्रको संरक्षणमा जोड दिने, जलवायु परिवर्तन न्यूनिकरण र भूपरीवेष्ठित सदस्य राष्ट्रहरुलाई अघि बढाउन पहल गर्ने सहमति पनि गरिएको छ ।

भूपरीवेष्ठित देशहरुको व्यापार र पारबहनसम्बन्धि समस्यालाई सहज बनाउन पनि सदस्य राष्ट्रहरुबीच सहकार्य गर्ने योजना बनाइएको छ ।

शिखर सम्मेलनले सार्क, आशियान लगायतका क्षेत्रीय संगठनहरुसँग आवश्यक सहकार्य गरेर अघि बढ्ने सहमति गरेको छ । बिहीबार र शुक्रबार काठमाडौंमा जारी चौंथो शिखर सम्मेलनमा सात वटै सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु सहभागी भएका थिए ।

बिमस्टेकको पाँचौं शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । यसअघि भारत, थाईल्याण्ड र म्यान्मारले विमस्टेक शिखर सम्मेलन आयोजना गरीसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);