काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले संवैधानिक कानूनको ज्ञात नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले संविधान संशोधनको विषयलाई सरकारले सामान्य रुपमा लिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहस पत्र तयार पार्नु अपरिपक्व काम काम भएको बताउनु भयो । उहाँले संविधानले चिनेको बहालवाला प्रधानन्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।
लोकतन्त्रको महत्वपूर्ण आधार भनेकै संवाद भएको तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको बताउनु भयो । सरकार उल्टो जुत्ता लगाएर हिँडिरहेको भन्दै उहाँले सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा नपुगिने टिप्पणी गर्नुभयो ।




