निर्मला पन्तको हत्या भएको ३६ दिन पुरा, उपलब्धि शुन्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

निर्मला पन्तको हत्या भएको ३६ दिन पुरा, उपलब्धि शुन्य

विक्रम श्रेष्ठ
काठमाडौं, १६ भदौ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज ३६ दिन भइसकेको छ । यस बीचमा बास्तविक हत्यारा पत्ता लगाई कार्बाहीका लागि त्यहाँका सर्वसाधरणले ठूलै संघर्ष गरिरहेका छन् । तर यस अवधीमा हत्यारा पत्ता लाग्नु त परको कुरा अनुसन्धान समेत नभएको भन्दै पीडित परिवार र स्थानियले चर्काे विरोध गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी सहित अनुसन्धान अधिकृतहरु समेत परिवर्तन भएपछि त्यहाँ सर्वसाधरणले आफ्नो आन्दोलनलाई मत्थर पारेका छन् । बलात्कार पछि भएको हत्याले यति लामो समय विताइसक्यो । तर घटना थप रहस्यमय बन्दै गएको छ ।

सनसनीपुर्ण घटना भएकाले घटना लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली समेत कन्चनपुर पुगेर घटनाको अनुसन्धान थाल्यो । लामो मेहेनत पछि घटना भएको २५ दिनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गर्याे ।

तर घटनापछि त्रसित, आक्रोशित र चनाखो भएका कञ्चनपुरका बासिन्दाले मानसिक सन्तुलन गुमाएका दिलिपलाई दोषी मान्न नसकिने भन्दै प्रहरी अनुसन्धानलाई विश्वास गरेनन् र बास्तविक हत्यारालाई पक्राउ गर्न दवाद स्वरुप कडा प्रदर्शन गरे । प्रदर्शनका क्रममा एक जना बालक शनी खुनाको प्रहरीको गोली लागि मृत्यु भयो ।

गृह मन्त्रालयले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरेको थियो । नयाँ प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुख, छानबीन समितिका अधिकारीहरु कञ्चनपुर पुगिसकेका छन् ।

उनीहरुले तत्कालै अनुसन्धान थालेको बताएका थिए । तर अहिलेसम्म कुनै परिणाम हात लागेको छैन । परिवारका सदस्यले समेत घटना शंकास्पद रहेको भन्दै अनुसन्धानलाई निष्पक्ष बनाउनु पर्नेमा जोड दिएका छन् ।

स्थानीयको आक्रोश तत्कालका लागि मात्रै साम्य भएको हो । नयाँ अनुसन्धान अधिकृतहरु स्थीति सम्हाल्न आएपछि वास्तविक हत्यारा पत्ता लाग्ने आशामा उनीहरु पछि हटेका हुन् । घटना पछि अनुसन्धानलाई नयाँ शिराबाट अघि बढाएको प्रहरीले बताएको छ । घटना निक्कै बर्बर थियो ।

यहाँका स्थानियले यत्तिकै यति ठुलो रडाको मच्चाएको पक्कै होइन । यदी स्थानिय लगाएतको आरोप जस्तै बास्तविक अपराधीलाई जोगाएर प्रहरीले मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई अचानो बनाएको हो भने त्यो भन्दा ठुलो दुर्दशा अर्काे हुने छैन । त्यसैले घटनाको सुष्म अनुसन्धान हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);