बलात्कारीलाई सर्वस्वसहित आजीवन काराबासको सजाय माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बलात्कारीलाई सर्वस्वसहित आजीवन काराबासको सजाय माग

काठमाडौं, ८ भदौ । सांसदहरुले महिलामाथि बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई सर्वस्वसहित आजीवन काराबासको सजाय दिने कानुनी व्यवस्था गर्न माग गरेका छन् ।

महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको संकल्प प्रस्ताव माथि धारणा राख्दै सांसदहरुले महिला हिंसामा संलग्न दोषिलाई हदै सम्मको कारवाहीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संविधानले महिलालाई सम्पुर्ण रुपबाट अधिकार सम्पन्न बनाउँदै गर्दा महिला माथि नै हिंसाको घटना बढ्दै जानु चुनौतिपुर्ण भएको भन्दै सांसदहरुले त्यसतर्फ समयै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले महिला हिंसा अन्त्य गर्नुपर्ने माग सहित पेश गरिएको प्रस्तावको समर्थन गर्दै महिला हिंसा अन्त्य गर्न सबैको सहयोग आवश्यक रहेको बताइन् ।

सरकारले १९९१ मा नै महिला बिरुद्ध हुने सम्पुर्ण हिंसालाई समाप्त गर्छु भनेर प्रतिबद्धता जनाईसकेको उल्लेख गर्दै उनले प्रतिबद्धता अनुसारको महिलालाई समानताको अनुभूति दिलाउनुपर्नेमा जोड दिइन् ।

नयाँ संविधानले महिलाको सवालमा नयाँ हकको व्यवस्था गरिरहँदा दैनिकजसो महिला बिरुद्धका हिंसा बढ्दै गएको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा उनको जोड छ ।

पितृसतात्मक समाज, विभेद र अभावको पीडा तथा शक्तिको दुरुपयोगका कारण महिला माथि हिंसा हुने क्रम बढ्दै गएको भन्दै उनले महिला विरुद्धको हिंसामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनु भन्दा पनि राजनीतिकरण गर्ने अभ्यासले हिंसालाई बढावा दिँदै गएको बताइन् ।

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले आर्थिक, समाजिक, बैचारिक र प्रशासनिक रुपले महिला र पुरुष बराबर छन् भन्ने सन्देश नगएसम्म महिलामाथिको हिंसा अन्त्यको कल्पना गर्न नसकिने बताए ।

उनले महिलाको अधिकार र महिलाको न्याय महिलाले मात्रै उठाएर नहुने भन्दै पुरुषले पनि एक साथ हिंसा अन्त्य गर्दै महिलालाई सवल र सक्षम बनाउन लाग्नुपर्ने बताए । उनले कानुन आफैमा पूर्ण नहुने भएकाले राजनीतिकसंगै सामाजिक र आर्थिक समस्याको रुपमा रहेको हिंसा बिरुद्धको जागरण आवश्यक रहेको बताए ।

नेकपाका सांसद खगराज अधिकारीले संविधानको धारा १८, ३८, ३९,४२,४३ मा समानताको हक, महिलाको हक, बालकालिकाको हक, सामाजिक न्यायको हकमा महिलाको हक सुरक्षित गरिएको भन्दै आफु अन्तिम अवस्थासम्म महिला हिंसा बिरुद्ध लागिरहने संकल्प गरे ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले महिला हिंसा बिरुद्ध संसदले एकसाथ संकल्प गर्नुपर्ने आवश्यकता औल्याइन् । पीडित महिलालाई समाजमा सम्मान पुर्वक बाच्न आवश्यक पर्ने सम्पूर्ण प्रबन्ध सरकारले मिलाउनुपर्नेमा उनको जोड थियो । बलात्कृत महिलालाई सामाजिक रुपमा प्रतिष्ठा सहित बाँच्ने अधिकारको सुरक्षा सरकारले गर्नुपर्ने उनले बताईन्।

नेकपाकी सांसद रेखा शर्माले बालिका बलात्कार, हिंसा हत्या, छाउपडी, बोक्सी लगायतको सामाजिक समस्या र राजनीतिक उपलब्धिबीचको अन्तरविरोध हटाउनु आजको चुनौति भएको भन्दै त्यसतर्फ राज्य गम्भीर हुनुपर्ने बताइन् ।

उनले कन्चनपुरमा बलात्कार विरुद्धको आन्दोलन हिंसा उन्मुख हुँदै गएको भन्दै कडा कानुन बनाई सम्पूर्ण किसिमको हिंसा अन्त्य तर्फ मुलुकलाई लैजानुपर्नेमा जोड दिइन् ।

प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेश
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव पेश गरेकी हुन् । सांसद पाण्डेले महिलामाथि हत्या, हिंसा, बलात्कार लगायतका घटना बढ्दै गईरहेका बेला त्यसलाई अन्त्य गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा संकल्प प्रस्ताव पेश गरेकी हुन् ।

प्रस्ताव पेश गर्दै उनले महिला हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियान संचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । संकल्प प्रस्तावमा महिलामाथि देशव्यापी रुपमा भएको सबै प्रकारका हिंसा विरुद्ध जनप्रतिनिधिहरु एकभई अभियानकै रुपमा संकल्प गर्ने, महिला हिंसामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरि कडा कारवाही र पीडितलाई उपचार, क्षतिपुर्ति तथा सामाजिक पुर्नस्थापनाका लागि व्यवस्थापन गर्न सरकारलाई निर्देशन जारी गर्ने, सम्पुर्ण किसिमका विभेद विरुद्ध मुलुकभर जनचेतना अभियान संचालन गर्न सरकारलाई निर्देशन दिने र सामाजिक न्यायको विषयमा विद्यालय तहमा शिक्षा दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने बुँदा समावेश छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);