भारतीय बाँधका कारण बाँके जिल्ला डुबानको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्षेत्रनाथ देवकोटा, बाँके, ६ भदौ । वर्षात्का बेला हरेक वर्ष डुबानको पीडा सहँदै आएको बाँके, भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध निर्माण गरेपछि थप पीडित बनेको छ । बाढीको प्राकृतिक बहाव थुनिएपछि मानवीय र भौतिक क्षति चुलिँदै गएको छ । वर्षातको समयमा राप्ती आसपासका दर्जनौँ गाउँ डुबानमा पर्दै आएका छन् भने हजारौं सर्वसाधारण विस्थापित हुने गरेका छन् ।

 

राप्ती नदीमा बाँध निर्माण गर्नुअघि गाउँ जलमग्न हुन्थे तर डुबान कम हुन्थ्यो । तर, भारतले एकतर्फी रूपमा बाँध र तटबन्ध निर्माण गरेपछि समस्या बढेको छ । लक्ष्मणपुर बाँधको ढोका भारतीय पक्षले बाढीका बेला खोल्न ढिलो गर्छ । कलकलवा तटबन्धले छेकेपछि नेपाली भूमितर्फ बाढी फर्किन्छ र गाउँहरु डुब्छन् ।

 

भारतले सन् १९९९ देखि २००० मा एकतर्फी रूपमा साढे २२ किलोमिटर लामो, ५ मिटर चौडा र ५ मिटर अग्लो कलकलवा मार्जिनल तटबन्ध निर्माण गर्दा स्थानीय स्तरबाट व्यापक विरोध भयो । तर, अन्तर्राष्ट्रिय मान्यताविपरीतको भारतीय प्रवृत्तिविरुद्ध नेपाल सरकारले मुख खोलेन । परिणामतः बाँकेका राप्ती सोनारी, डुडवा र नरैनापुर गाउँपालिकाका हजारौं सर्वसाधारण डुबानमा पर्दै आएका छन् । सयौं जग्गाधनी भूमिहीन बनिसके । गाउँहरू सामुदायिक वनमा परिणत भइरहेका छन् ।

 

यो वर्षको बाढीले मात्र नौ हजार परिवार विस्थापित भए । नेपाल सरकारको मौनताका कारण भारतलाई दशगजा क्षेत्रनजिक बाँध तथा सडक निर्माण गर्न थप सहज भएको छ । भारतले २०६८ पुसमा दसगजासँगै जोडेर तटबन्धजस्तो सडक निमार्णका लागि सर्भे गर्दा पनि नेपाल सरकार मौन बस्यो । अहिले भारतले सीमा सुरक्षाका लागि भन्दै सीमासँगै जोडेर ३० मिटर चौडाइ र ३ मिटर अग्लो तटबन्धजस्तो सडक निर्माण गरिरहेको छ । जसका कारण नेपालगन्ज उपमहानगरपालिकाका सीमावर्ती गाउँ र जानकी गाउँपालिकाका गाउँहरू डुबानमा पर्न थालिसके ।

 

नेपाल सरकार र नेपाली नेताको मौनताकै कारण भारतले जे चाह्यो त्यही गरिरहँदा तराईबासी नेपालीले डुबानको दीर्घकालीन समस्या त भोग्दै छन् नै, हजारौं हेक्टर खेतीयोग्य जमिन जलाशय र बगरमा परिणत हुँदै छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);