बाँधले बाँधिएको देश : भारतले एकतर्फी बनाएका १५ बाँधबाट पीडित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँधले बाँधिएको देश : तीन मुख्य नदीमा सन्धिले बाँधिएको देश भारतले एकतर्फी बनाएका १५ बाँधबाट पीडित, तर मौन –

सप्तकोसी : अझै एक सय ४७ वर्ष भारतको जिम्मा
०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध ०२२ वैशाख १२ गते उद्घाटन भएको थियो । कोसी ब्यारेज १९९ वर्ष भारतले सञ्चालन गर्ने गरी भएको सम्झौताअनुसार बनेको बाँध बल्ल ५२ वर्ष भएको छ । तर, अझै १४७ वर्ष भारतले नै सञ्चालन गर्नेछ।

 

कानुनी वैधता लामो भए पनि बाँधको इन्जिनियरिङ क्षमता सकिएको छ । ५० वर्ष नाघेकाले बाँध कुनै पनि वेला भत्किन सक्ने चेतना नेपाल र भारत दुवै पक्षलाई छ । तर, यो विषयमा सार्थक सहमति भएको छैन । कोसी सम्झौताअनुसार ब्यारेज भारतबाट सञ्चालित छ र पटनास्थित कार्यालयबाट यसको सञ्चालन र रेखदेख भइरहेको छ । कोसी ब्यारेजको ढोका खोल्ने जिम्मा भारतीय कर्मचारीको छ। कोसीमा यति क्युसेक पानी बग्यो भनेर आउने जानकारी पनि भारतीयहरूले दिएपछि नेपाली अधिकारीमार्फत मिडियामा आउँछ।

 

गन्डक सम्झौता : ५८ वर्षअघि बाँध बनेदेखि विवाद
१९ मंसिर ०१६ मा नेपाल र भारतबीच गन्डक सम्झौता भएको हो । बाढी नियन्त्रण, सिँचाइ र विद्युत् उत्पादन गर्ने एकीकृत उद्देश्यले भएको सम्झौतामा नेपालको तर्फबाट उपप्रधानमन्त्री सुवर्णशमशेर र भारतीय राजदूत भगवान सहायले सो सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार नेपालले ४० हजार हेक्टर जमिनका लागि सिँचाइ सुविधा पाउनुपर्नेमा २५ हजार हेक्टरमा मात्रै पाएको छ। आवश्यक परेका वेला सिँचाइ नपाउने र अनावश्यक समयमा बाढी आउने समस्याले नवलपरासीका १३ गाविसका बासिन्दा पीडित छन् । जनस्तरमा यो विषय पटक–पटक उठे पनि कूटनीतिकस्तरमा प्रभावकारी बहस हुन सकेको छैन।

 

टनकपुर बाँध : ९७ वर्षअघिको अंग्रेजी घाउ
भारतमा अंग्रेजकै शासन भएका वेला सन् १९२० मा महाकाली नदीमा बाँध बनाउने गरी शारदा सन्धि भएको हो । त्यतिवेला नेपाललाई चार सय ६० क्युसेक पानी दिने भनिए पनि नेपालले कहिल्यै पाएन। देशमा प्रजातन्त्र पुनर्बहाल भएपछि ०४८ मा भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए भने ०५२ मा शेरबहादुर देउवाले टनकपुरलाई समेटेर महाकाली सन्धि गरेका थिए । तर, त्यसअघि नै भारतले एकतर्फी रूपमा बनाएको जलाशयले पाँच सय ७७ मिटर नेपाली जमिन मिचेको छ।

 

महाकाली सन्धिले भनेको छ– जलाशयबाट नेपालले तीन सय क्युसेक पानी पाउनेछ । जब कि महाकाली नदीमा औसतमा २४ हजार क्युसेक पानी बग्छ । नेपाली भूमि बचाउन र नदीमा आधा अधिकार स्थापित गर्न महाकाली क्षेत्रका जनताले १८ वर्षदेखि आन्दोलन गरिरहेका छन् । तर, देशका जिम्मेवार राजनीतिक दल यो विषयमा मौनजस्तै छन्।

 

यी हुन् भारतले एकतर्फी बनाएका १५ बाँध

लक्ष्मणपुर बाँध : बाँके हुँदै बग्ने पश्चिम राप्ती नदीमा नेपाल–भारत सीमा क्षेत्रनजिक यो बाँध छ । सन् १९८० मा सुरु गरेर १९८५ मा भारतले एकलौटी रूपमा लक्ष्मणपुर बाँध निर्माण सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाइँदैन । तर, लक्ष्मणपुरमा भारतले बनाएको बाँधको पानीले नेपालका गाउँका गाउँ डुब्छन्।

 

कलकलुवा तटबन्ध : लक्ष्मणपुर बाँधसँगै जोडेर ०५६ मा भारतले २२ किमि लामो ४ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्दा नेपालसँग कुनै सम्झौता भएन । तर, नेपाली जनता पीडित छन् ।

 

धौलीगंगा बाँध : भारतको धार्चुला जिल्लाबाट महाकाली नदीमा मिसिने धौलीगंगा नदीमा बनेको बाँधले नेपाललाई अप्ठेरो पर्दै आएको छ । यही बाँधका कारण १ असार ०७० मा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगाको बजार बगेको थियो ।

 

कोइलाबास तटबन्ध : दाङको सीमाक्षेत्रको दाराखोलामा भारतले कोइलाबास बाँध बनाएको छ । बाँधका कारण बर्सेनि ३ हजारभन्दा बढी नेपालीको खेती मात्र होइन घरआँगन पनि डुब्दै आएको छ ।

 

महलीसागर बाँध : ०५९ मा भारतले कपिलवस्तुको सीमाक्षेत्रमा एकतर्फी रूपमा १५ ढोकासहितको ३० मिटर लामो महलीसागर बाँध निर्माण गरेको छ । यस बाँधले सुक्खा मौसममा समेत १९१ हेक्टर जमिन डुबाउने गरेको छ, बर्खाको त हिसाब नै छैन ।

 

रसियावाल–खुर्दलोटन बाँध : रुपन्देहीको मर्चवार क्षेत्रनजिक भारतद्वारा एकतर्फी रूपमा रसियावाल खुर्दलोटन तटबन्ध निर्माण गरेको छ । बाँधका कारण १८ गाउँका बासिन्दाले बर्सेनि डुबान समस्या झेल्दै आएका छन् । राज्य र नेताले पनि उनीहरूको समस्यामा नबोलेको भन्दै स्थानीयले आक्रोश पोख्ने गरेका छन् ।

 

डन्डाफरेना बाँध: डन्डाफरेना तटबन्ध सिद्धार्थनगर नगरपालिका–२ देखि दक्षिण नेपाल–भारत सीमारेखाबाट ६ मिटरको दूरीमा अवस्थित छ । नेपालबाट बग्ने डन्डा नदीमा भारतद्वारा निर्मित पक्की बाँधमा हाल डन्डाफरेना तटबन्ध पनि जोडिएको छ । ७ किलोमिटर लामो तटबन्ध निर्माणको योजना रहे पनि नेपालको विरोधका कारण ३ किमि मात्र निर्माण गरिएको थियो । तर, यस्तो विरोध त्यहीँका स्थानीयले गरेकोबाहेक राज्यको तर्फबाट भने उठाएको देखिन्न ।

 

लालबकैया तटबन्ध : ०६० मा ३ वटा निकासद्वारसहित ८ किलोमिटर लामो तटबन्ध भारतले निर्माण गरेको हो । यो रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण गौर नगरपालिकाका साथै औरही, सिर्सिया, पुरेनवा र जयनगर गाविसको अधिकांश भाग हरेक बर्ष डुबानमा पर्दै आएको ।

 

बैरगनिया तटबन्ध : रौतहटको गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा भारतद्वारा बिसं २०३७ सालमा नेपालको सहमति विना नै लामो तटबन्ध रातारात खडा गर्यो । यो १५ किलोमिटर लामो १० देखि १२ फिट उचाइको छ । यस तटबन्धले रौतहटमा बागमती र लालबकैया नदिको प्राकृतिक वहावलाई नै मोडिदिएको छ । जसले गर्दा रौतहटका सदरमुकाम गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसिया गाविसहरुलाई डुबानमा पार्दै आएको छ ।

 

बागमती तटबन्ध : यो तटबन्ध पनि रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको छ । बाढी र डुबान नियन्त्रणका लागि भन्दै भारतले सिमानामै बागमतीको दायाँ किनारमा ८.२५ किलोमिटर र बाँया किनारामा १८.२५ किलोमिटरको लामो तटबन्ध निर्माण गरेको छ । करिव १६ किलोमिटर तटबन्ध नेपाल भारत सीमाक्षेत्रबाट बायाँ बनुस्मारा तटबन्धसम्म फैलिएको छ । आज मात्रै यो तटबन्धका कारण रौतहट क्षेत्र डुवानमा परेको भने त्यहाँ गाउँ नै विस्थापित भएको समाचार छ ।

 

कमला तटबन्ध : कमला तटबन्ध धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदिको दुवै किनारामा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण हरेक बर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल गरी छ गाविस र लाहान नगरपालिकाका केही वडाहरुका करिब १०६५ हेक्टर भूभाग डुबानमा पर्ने गरेको छ ।

 

सिराहा तटबन्ध : सिराह बाँध सिराहा जिल्लाको सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्र नजिक भारतीय भूमिमा पर्दछ । यो बाँध हरकट्टि गाविसको भारततिरबाट दशगजा क्षेत्रमा निर्माण गरिएको छ । सो तटबन्ध ३ किलोमिटर लम्बाई २० फिट चौडाईमा फैलिएको छ।

 

खाँडो तटबन्ध : भारतले आफूतिरको भूभागमा पानी रोक्नका लागि बाँध बनाएर नेपाल डुबाएको अर्को बाँध हो सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टि नदिमा निर्माण गरिएको खाँडो बाँध।

 

कुनौली तटबन्ध : यो तटबन्ध सप्तरी जिल्लाको राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको छ। सीमा क्षेत्रभन्दा १ मिटरको दूरीमा भारतले यो तटबन्ध निर्माण गरेको हो। यस तटबन्धका कारण सप्तरी जिल्लाका दक्षिणी भेगका ११ वटा गाविसहरुलाई डुबानमा पार्दै आएको छ।

 

लुना बाँध : यो बाँध मोरङ जिल्लाको बक्राह नदिमा छ। भारतले यो बाँध नेपाल भारत सीमावर्ती क्षेत्र नजिक नेपालबाट भारततिर बग्ने बक्राह ९ र भारतमा लुना नदिमा आफ्नो भूभागतिर बनाएको छ। आजको नयाँ पत्रिका दैनिकले विशेष खबर छापेको छ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);