चिकित्सक कर्मचारी नहुँदा अस्पतालको सेवा नै प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

श्याम गुप्ता, बारा, ५ भदौ । बाराको कलैयास्थित जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक कर्मचारी नहुँदा अस्पतालको सेवा नै प्रभावित भएको छ । एकातिर पर्याप्त कर्मचारी र चिकित्सकको अभावमा अस्पताल पुग्ने बिरामीले उपचार सेवा पाउन सकेका छैनन् भने अर्कातिर सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका पनि अस्पतालले कार्यान्वयनमा ल्याएको छैन ।

 

 

केही दिनअघिको अविरल वर्षापछि आएको बाढी र डुवानले बारामा भाइरल ज्वरो र अन्य रोगका बिरामीको संख्या ह्वात्तै बढेको छ । तर, अस्पतालमा उपचार सेवा चुस्त नहुँदा बिरामी मर्काका पर्ने गरेका छन् ।

 

 

अस्पताल प्रशासनले भने विशेषज्ञ चिकित्सकको अभावमा उपचारमा समस्या भएको बताएको छ । अस्पतालका डाक्टरहरु पनि दरबन्दी अभावमा प्रभावकारी उपचार हुन नसकेको बताउँछन् । चिकित्सक अभावमा बिरामीहरु उपचारका लागि क्लिनिकहरुमा जान बाध्य हुने गरेको उनीहरुको भनाइ छ ।

 

 

५० शय्याको जिल्ला अस्पतालमा १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल ६ जना मात्र कार्यरत छन् । ती पनि सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अस्पतालमा बस्ने गरेका छैनन् । इमर्जेन्सी सेवा २४ घण्टा खुला हुनुपर्ने भए पनि अधिकांश समय डाक्टर भेटिँदैनन् । अस्पतालको फार्मेसीमा औषधि नभएको भन्दै डाक्टर स्वयंले नै बाहिर किन्न पठाउने गरेका छन् । औषधि नहुँदा २ बजे नै फार्मेसी बन्द गर्ने गरिएको कर्मचारी विनोद रौनियार बताउँछन् ।

 

 

विशेषज्ञ चिकित्सक नभएको भन्दै अस्पतालले बिरामीलाई अन्यत्र रेफर गर्ने गरेको छ । तर, सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाको अधिनमा रही सेवा प्रवाह गर्न सके कम जनशक्तिबाट पनि धेरै बिरामीले स्वास्थ्योपचार पाउनेतर्फ भने अस्पताल प्रशासनले सोच्ने गरेको पाइँदैन ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);