विमस्टेक सम्मेलनअघि ‘सोम’ बैठक, पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विमस्टेक सम्मेलनअघि ‘सोम’ बैठक, पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ

bimstec

काठमाडौं, २० साउन । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सदस्य राष्ट्रका उच्च अधिकारीहरुको जमघट हुँदैछ ।

सबै सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरिय अधिकारी संलग्न रहने ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) आयोजना हुने भएको हो । यही साउन २६ गतेका लागि सोम जमघटको मिति तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘अर्को हप्ता ‘सोम’ बैठक हुँदैछ, सम्मेलनको तयारीलाई थप सहज बनाउन यस्तो बैठक हुनलागेको हो’–मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

विमस्टेक मन्त्रीस्तरिय बैठकको तयारी, शिखर सम्मेलनका एजेण्डा तय गर्न, घोषणापत्रको मस्यौदा र अन्य वातावरण सहज बनाउन सोम जमघट हुने भएको हो । चौँथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ, मन्त्रीस्तरिय बैठक पनि सोही बेला हुनेछ । सन् २०१४ को मार्चमा म्यानमारको राजधानी ने पि तोमा तेस्रो शिखर सम्मेलन सम्पन्न भएपश्चात् नेपाल विमस्टेकको अध्यक्ष राष्ट्रको भूमिकामा छ ।

विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् । दुई वर्षअघि सन् २०१६ भित्रै नेपालमा हुनुपर्ने चौथो सम्मेलन भूकम्प, नाकाबन्दी र मुलुकको अन्य राजनीतिक कारण देखाउँदै धकेलिदै आएको थियो ।

यसैबीच सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य पाहुनाका लागि आवश्यक पर्ने सवारी जुटाउन सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ गाडी किन्ने भन्दा पनि विभिन्न मन्त्रालय र निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन गृह मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।

विगतमा राजपरिवारले प्रयोग गरेका गाडी, ४ वर्षअघि काठमाडौंमा आयोजना भएको १८ औं सार्क सम्मेलनमा प्रयोग भएका र अन्य निकायका सुविधा सम्पन्न सवारी जुटाउन समितिले कसरत गरेको हो । १८ औं सार्क सम्मेलनताका कतारले नेपाललाई ९ वटा मर्सिडिज गाडी सहयोग स्वरुप उपलब्ध गराएको थियो । गृह मातहतको समितिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी मातहतका गाडीबारे चासो राख्दै पत्राचार गरेको बताइएको छ ।

गृहको चासो लिएपछि नेपाल प्रहरीले ४, सशस्त्रले २ र गाडीको संख्या नखुलाएको सेनाले आवश्यकताअनुसार उपलब्ध गराउन सकिने भन्दै जनाउँदै जवाफ दिएका छन् । आजको नेपाल समाचारपत्रमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);