'तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन' | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

‘तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन’

काठमाडौं, १ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन गर्ने घोषणा गरेका छन् ।

मन्त्री पुनले ३ वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको बताए । ५ वर्षमा ५ हजार मेघावाट विद्युत उत्पादन गर्ने कार्य योजनासहित सरकारले विद्युत विकासका लागि स्वेतपत्र नै जारी गरेको उनले बताए ।

विद्युत विकास विभागको रजत जयन्तिको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यमाथि खिसीटयूरी गर्नेहरुलाई जवाफ दिने गरी सरकारले विद्युत विकासको रणनीति तय गरेको बताए ।

मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानीलाई उच्च प्राथमिकता दिएको बताए । उनले मुलुकलाई समृद्ध बनाउन विद्युत विकासको कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।