काठमाडौं, १४ असार । डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबलबाट वाहिरिएको छ ।
दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविक विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । गएराति भएको समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको हो । दक्षिण कोरियाले दुवै गोल खेलको इन्जुरी समयमा गरेको हो । दक्षिण कोरियाका लागि किम युङ गोनले इन्जुरी समयको दोस्रो र सन हियुङ मिनले छैटौं मिनेटमा गोल गरे ।
जर्मनीवरुद्ध जित दर्ता गरेको दक्षिण कोरिया यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो । समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग पराजित भएका कारण अन्तिम १६ मा प्रवेशका लागि जर्मनीमाथि दक्षिण कोरियालाई जित्नैपर्ने दबाब थियो । तर चार पटकको विजेता जर्मनी समूह चरणबाटै घर फर्कन वाध्य भएको छ । समूह एफबाट स्वीडेन र मेक्सिको दोस्रो चरणमा प्रवेश गरेका छन् । स्वीडेन मेक्सिकोलाई ३–० गोल अन्तरले पराजित गरी समूह विजेता बनेको छ ।
गएराति भएको अर्को खेलमा ब्राजिल भने समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । सर्बियालाई २–० गोलअन्तरले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो । ब्राजिलको जितमा पाउलिन्होले ३६ औं तथा थिएगो सिल्भाले ६८ औं मिनेटमा गोल गरे । पराजयसँगै सर्बिया घर फर्किएको छ । यो समूहबाट स्वीजरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको छ । कोष्टारिकासँग २–२ गोलको बराबरी खेली समग्रमा ५ अंकसहित स्वीजरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।
विश्वकप अन्र्तगत आज समूह चरणका अन्तिम खेल सकिंदै छन् । आज समूह एच अन्तर्गत जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बियाबीच राति ७ः४५ तथा समूह जी अन्तर्गत इङ्ल्याण्ड र बेल्जियम तथा पानामा र ट्युनिसियाबीच ११ः४५ बजे खेल हुने छ । समूह एचमा जापान चार अंकसहित पहिलो स्थानमा छ भने पोल्याण्ड दुई खेलमा हार व्यहोरि यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । यस्तै समूह जीबाट बेल्जियम र इङल्याण्ड दुई दुई खेलमा जित हात पारी यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।