काठमाडौं, २२ बैशाख । सुपरस्टार अनमोल केसीको लिड रोल रहने फिल्म ‘क्याप्टेन’ मा ‘ऐश्वर्य’ फेम अभिनेता प्रशान्त ताम्राकार अनुवन्धित भएका छन् । यो कुराको पुष्टि यस फिल्मका निर्देशक दीवाकर भट्टराईले गरेका छन् । उनले प्रशान्तको भूमिकाको विषयमा भने बोल्न चाहेनन् ।
बुझिएअनुसार, उनी यस फिल्ममा पनि नेगेभिट रोलमा देखिनेछन् । ‘ऐश्वर्य’ को सफलतापछि यतिबेला प्रशान्तको डिमाण्ड ह्वात्तै बढेको छ । भिलेनको भूमिकामा अहिले सबैभन्दा बढी उनको खोजी हुने गर्दछ । उनी नेपाली फिल्ममा ‘ह्यान्डसम भिलेन’ का रूपमा चिनिँदै आएका छन् ।
गएको आइतवार पूर्वको इलाममा भएको ‘माइभ्याली गोल्डकप’ मा ‘क्याप्टेन’ को तीन दिन सुटिङ गरिएको थियो । केही दिनमा फिल्मको दोस्रो चरणको सुटिङ सुरु हुँदैछ । अनमोलले उक्त फिल्ममा एक फुटबल खेलाडीको भूमिका निर्वाहा गर्दैछन् । भुवन केसी यसको निर्मातामा रहेका छन् ।
उक्त फिल्ममा अनमोलको उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी बाँधिएको छ । यसमा सरोज खनाल पनि लिड रोलमा छन् । पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ । फिल्मीखबरबाट