संगीतमा फेरिएको आशा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संगीतमा फेरिएको आशा

काठमाडौं, २३ बैशाख । अहिले गीतसंगीतमा भविष्य खोज्नेहरूको जमात बढ्दै गएको छ । यही भीडका एक पात्र हुन् म्याग्दीका दीपक शर्मा । उनी नेपाली सांगीतिक आकाशका उदाउँदा प्रतिभा हुन् ।

२०५९ सालमा काठमाडौं पसेका शर्मा पुतलीसडकको श्रुति संगीत विद्यालयमा दुई वर्ष र गुरुकुलमा तीन वर्ष शास्त्रीय संगीत सिके । तबला र गितार बजाउन दुई वर्षको कोर्स पूरा गरे । हाल पियानो र ड्रम सिक्दै रहेका शर्मा ‘देखन चम्पा’, ‘पर्ख पर्ख मायालु’ र ‘तिम्रो पिक्चर’ गीत हिट भएपछि चर्चामा छन् ।

नेपाली संगीतको क्षेत्रमा अहिले महिलाको पनि उपस्थिति देखिन थालेको छ । तर यो संख्या न्यून छ । महिला संगीतकारमाझ छुट्टै छवि बनाएकी छन् चितवनकी रेखा पौडेलले । २०५९ सालमा चितवन महोत्सवमा आफ्नै संगीतमा बहिनी दुर्गाले लेखेको गीत गाएर सर्वोत्कृष्ट भएपछि उनलाई गीतसंगीतकै क्षेत्रमा केही गर्न सकिन्छ भन्ने लाग्यो । त्यसपछि उनी २०६१ सालमा काठमाडौं छिरिन् ।

गुरु चन्दनकुमार श्रेष्ठसँग पाँच वर्ष शास्त्रीय संगीत सिकिन् । यही क्रममा कोरस गाउने र गीत लेख्न थालिन् । आकृति एल्बमका दुई गीतमा संगीत दिएर उनी संगीतकारका रूपमा चिनिन थालिन् । चलचित्र ‘फूल’ को सम्पूर्ण गीतमा उनले संगीत भरेकी छन् । ‘संगीत भित्री मनको फिलिङ हो जुन देख्न सकिन्नँ, मात्र महसुस गर्न सकिन्छ’, पौडेल भन्छिन् । यो कामबाट मान, सम्मान र इज्जत पाएकोमा खुसी पनि छिन् ।

उनी सुरुवाती दिन सम्झन्छिन्, ‘संगीत गर्छु भन्दा कसैले पनि विश्वास गर्दैनथे, गीतकारले पनि गीत लेखिदिन्छु भन्थे तर बेवास्ता गर्थे ।’ महिला फिल्म निर्मातालाई भेटेर गीत सुनाएको र काम दिन्छु भनेर लामो समय झुलाएको नमीठो अनुभन पनि छ उनीसँग ।

केही समय त उनलाई नेपालमा संगीत गरेर जीवन धान्न नसकिने रहेछ जस्तो पनि लागेको थियो तर नियमित मेहनत गर्न भने छाडिनन् । शिव रेग्मीले निर्देशन गरेका केही फिल्मका गीतमा संगीत भर्ने काम गरिन् । फिल्म ‘हमेशा’ को हमेशा हमेशा बोलको गीतले उनलाई चर्चामा ल्यायो ।

स्याङ्जामा जन्मेका बादल घिमिरे गाउँकै स्कुलमा प्लस टु सकाएपछि संगीत सिक्न २०६६ सालमा काठमाडौं हानिए । आफैंले हार्मोनयम किनेर संगीत यात्रा सुरु गरेका घिमिरे श्री संगीत पाठशालामा चण्डीप्रसाद काफ्लेसँग दुई वर्ष शास्त्रीय संगीत सिके ।

आरआर कलेजमा अहिले पनि संगीत पढ्दै गरेका उनी संगीत सिकेर कहिल्यै पूर्ण बन्न नसकिने तर्क गर्छन् । संगीतकार तथा गायक सुरेश अधिकारीले आफूलाई संगीत क्षेत्रमा लाग्न हौसला दिएको उनले बताए । गीत लेख्ने र संगीत गर्ने काममा समय खर्चिने घिमिरेका आफ्नै संगीत तथा शब्द संयोजनमा ‘बादल’ र पानी पानी बोलका दुई एल्बम बजारमा ल्याएका छन् । डाक्टर साबले भन्छन्, सानी सानी, तिम्रो यादको आगो, तिम्रो तस्बिर, मनै चञ्चलजस्ता गीतले उनलाई चर्चा दिलायो ।

संगीत क्षेत्रमा टिक्न र चर्चा कमाउन निरन्तर काम गरिरहनुपर्छ भन्ने घिमिरेले संघर्षको बाटो पनि लामै हिँडेका छन् । ‘एउटा गीतका शब्दमा प्राण भर्ने काम नै संगीत हो’, घिमिरे भन्छन्, ‘संगीत सिर्जना गर्नु पेसा नभएर सामाजिक काम हो ।’

बादललाई पनि गीतमा संगीत भर्ने काम अत्यन्त जोखिम उठाउनु हो जस्तो लाग्छ । भन्छन्, संगीतका आधारमा नै गीत चल्ने र नचल्ने निर्धारण हुने भएकाले पनि एउटा स्रष्टालाई सफल बनाउने, नबनाउने जिम्मा संगीतकारको हुन्छ ।’ दीपक र बादलको भनाइमा सहमत हुँदै रेखा भन्छिन्, ‘संगीतकार भएर जीवन धान्नु भनेको प्रतीक्षाको फल पर्खनु हो । कडा परि श्रम गरेर मात्र स्थापित हुन सकिन्छ ।’

एउटा गीतमा संगीत गरेबापत २० हजार रुपैयाँ लिने गरेकी छन् रेखाले । महिनामा ५ /६ वटा गीतमा शब्द तथा संगीत भर्ने काम गर्न भ्याउँछिन् उनी । फुर्सदको समयमा विभिन्न स्कुलमा संगीत सिकाउने रेखाको हालको दैनिकी यही पेसाबाट चलेको छ । घिमिरे महिनामा १० वटासम्म गीतमा संगीत भर्छन् । युरोपको भिसा छोडेर यो क्षेत्रमा रमाएको उनको भनाइ छ ।

केही समयअघिसम्म काम खोजेर हिँड्ने दीपक हाल आएका काम पूरा गर्न हम्मेहम्मे परेको बताउँछन् । सुरुमा कस्तो संगीत गर्ने भन्ने चिन्ताले सताउने दीपकलाई हाल अनुभवले गर्दा केही समस्या छैन । सिकेर आउनेलाई संगीतमा टिक्न समस्या नभएको उनको अनुभव छ । सरकारले रोयल्टीको उचित व्यवस्थापन गरिदिए संगीतकर्मीलाई कुनै समस्या नहुने उनको भनाइ छ । अन्नपुर्णपोष्टबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);