स्वरसम्राट नारायण गोपालको ३५औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कालजयी गीतलाई सुमधुर स्वरले जनजिब्रोसम्म गुञ्जाउन सफल नारायण गोपालले नेपाली संगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । नेपाली संगीतको क्षेत्रलाई समृद्ध बनाएका नारायण गोपाललाई वर्तमान पुस्ताले उच्च सम्मानका साथ सम्झिने गरेको छ ।
-माेहनप्रसाद मैनाली
स्वरसम्राट नारायण गोपाल गुर्वाचार्य नेपाली आधुनिक संगीतका अतुलनीय कलाकारका रूपमा नेपाली समाजको सांगीतिक चेतनामा जीवित रहँदै आएका छन् । १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपाल बाल्यकालदेखि नै संगीतप्रेमी थिए । रेडियो नेपालमा माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर दिएको स्वरपरीक्षा नै उनको औपचारिक संगीत–यात्राको पहिलो पाइलो थियो । संगीत र गायनमा गहिरो अभिरुची र स्वरप्रति समर्पण र अभ्यासको लगनशीलताले उनी नेपाली संगीतको सर्वोच्च शिखरमा पुग्न सफल भए ।
करिब ३० वर्ष लामो आफ्नो सिर्जनात्मक यात्रामा उनले एक सय ३७ गीतमा स्वर दिएका छन् । संख्यामा धेरै नदेखिए पनि ती प्रत्येक गीतले नेपाली मन–मस्तिष्कमा गहिरो छाप छोडेका छन् । उनको स्वर केवल आवाज मात्र नभइ भावनाको सूक्ष्म अभिव्यक्ति हुन् जहाँ पीडाको गहिराइ, भावुक प्रेम र जीवन दर्शन प्रष्ट्याएको छ । विशिष्ट कला र भावनासहितको आवाजका कारण उनी नेपाली संगीतप्रेमीको ह्रदयमा स्वरसम्राटको रुपमा परिचित हुन सकेका छन् ।
दार्जिलिङका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह नेपाली आधुनिक संगीतको सर्वश्रेष्ठ संयोजनका रूपमा आज पनि चर्चामा रहन्छ । गोपाल योञ्जनको संगीत, नगेन्द्र थापाको रचना र नारायणगोपालको स्वरको मिलनले नेपाली गीतसंगीतलाई उच्च कलात्मकता प्रदान ग¥यो । रत्नसमशेर थापाका गीतमा गोपाल योञ्जन र नारायणगोपालको सहकार्यले जन्माएका कृतिहरू आज पनि उत्तिकै ह्रदय स्पर्शी छन् ।
गायनसँगै नारायणगोपाल उत्कृष्ट संगीतकार पनि थिए । उनको संगीतमा भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, अरुणा लामा, लोचन भट्टराईलगायतले गाएका गीतहरूले पनि उल्लेख्य सफलता प्राप्त गरेका छन् । सांस्कृतिक संस्थानका महाप्रबन्धकका रूपमा कार्यरत रहँदा उनले बाजा, गीत र नाँचको संयोजित रुपको ‘बागीना नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरी नेपाली संगीत क्षेत्रलाई दस्तावेजीकरण र सैद्धान्तिकीकरणको दिशामा महत्वपूर्ण योगदान दिए ।
उनको योगदानको कदरस्वरूप उनलाई गोरखा दक्षिण बाहु, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्री, सर्वोत्तम संगीतकार, सर्वोत्तम गायकलगायतका प्रतिष्ठित सम्मानहरू प्रदान गरिएको छ । २०४७ साल मंसिर १९ गते उनको निधनले नेपाली संगीतले इतिहासकै एक अद्वितीय नक्षत्र गुमाउन पुग्यो । उनलाई मरणोपरान्त त्रिशक्तिपट्ट (तेस्रो) प्रदान गरिएको थियो । नारायण गोपाल गुर्वाचार्य ३४ वर्षअघि धर्तीलाई छोडेर गएपनि देशभक्तिले ओतप्रोत उनका गीतसंगीत गुञ्जिरहेका छन्, उनका कालजयी आवाजले नेपाली गीतसंगीतलाई समृद्ध बनाइरहेको छ ।
३५ वर्षपछि पनि नारायणगोपाल केवल कलाकारका रूपमा मात्र नभइ नेपाली संगीतको आत्मा र सांगीतिक मूल्यबोधका प्रतीकका रूपमा निरन्तर स्मरण भइरहेका छन् । नारायणगोपाल नेपाली संगीतको शिखर हुन् जहाँ भावनाको गहिराइ, धुनको सहजता र काव्यिक संवेदनशीलता एकै साथ भेटिन्छन् ।





