दीपेन्द्रको दोस्रो फिल्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दीपेन्द्रको दोस्रो फिल्म

gopi mm3

काठमाडौँ, २० बैशाख । फिल्म निर्माणका लागि तीन पत्रकार एकजुट भएका छन् । फिल्म समीक्षकका रूपमा परिचित दीपेन्द्र लामा र सामीप्यराज तिमल्सिनासँगै फोटो पत्रकार श्रीधर पौडेलले ‘गोपी’ फिल्म बनाउने भएका छन् ।

यसबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरेलगायत कलाकार देखिनेछन् । यसअघि आफ्नै पटकथा लेखन र निर्देशनमा ‘घामपानी’ बनाएका दीपेन्द्र ‘गोपी’ मा निर्देशकका रूपमा रहनेछन् । ‘कागबेनी’, ‘नाइँ नभन्नु ल ५’, ‘ड्रिम्स’ लगायत फिल्ममा पटकथा लेखेका सामीप्य भने यसमा पनि समान भूमिकामै रहनेछन् । श्रीधर कार्यकारी निर्माताका रूपमा संलग्न छन् । शैलेन्द्र डी कार्कीले खिच्ने भनिएको फिल्मको सुटिङ भदौमा सुरु गर्ने बताइयो । यसको सम्पादन निमेष श्रेष्ठले गर्नेछन् ।

प्राय आफैंले लेखेका फिल्म मात्र खेलिरहेका खगेन्द्र यसपालि ‘अर्काको’ फिल्ममा आबद्ध भएका छन् । ‘राम्रो स्क्रिप्ट आयो भने गर्छु भन्ने सोचेको थिएँ,’ उनले भने, ‘अहिले संयोग जुर्‍यो ।’ पछिल्लो पटक एकपछि अर्को फिल्ममा देखिइरहेका खगेन्द्रलाई संख्या बढी भयो कि भन्ने आशयको प्रश्न गरिएको थियो । उनले घरव्यवहार चलाउन यो बाध्यता भएको बताए । ‘राम्रो फिल्मको अफर आउँदा त्यो छोड्यो भने मेरो कलाकारितालाई पनि न्याय नगरेको हुन्छ,’ उनले भने ।

सुरक्षाले चाहिँ विषयवस्तु चित्त बुझेकाले फिल्म स्वीकारेको बताइन् । ‘निर्देशकले कथा सुनाइरहँदा मन पर्दै गयो,’ उनले भनिन्, ‘फिल्म बनाउनुको उहाँको उद्देश्य पनि नेक लाग्यो ।’ स्वदेशमै गरिखान सकिन्छ भन्ने एक युवाको कथामा फिल्म आधारित रहेको फिल्म युनिटले जानकारी दिएको छ । निर्देशक लामाले दुई वर्षपछि दोस्रो फिल्म सुट गर्न लागेको र यसका लागि निकै गृहकार्य गरेको बताए । ‘मेरो पहिलो फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो,’ उनले भने, ‘दोस्रोका लागि दर्शकले जस्तो अपेक्षा गर्नुभएको छ, त्यसलाई न्याय गर्न खोज्दै छु ।’कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);