गुरुचेला कि बाबुछोरा ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८०, बिहीबार

गुरुचेला कि बाबुछोरा ?

anup-khagendra

काठमाडौँ, १९ बैशाख । ५० वर्षे अनुप बराल र ३९ वर्षे खगेन्द्र लामिछाने उमेरले दाजुभाइ, कर्मले गुरुचेला र शुक्रबारदेखि प्रदर्शन हुन लागेको ‘डमरुको डन्डीबियो’ मा बाबुछोराको चरित्रमा देखिँदै छन् । ‘अनुप दाइले मलाई ११ वर्षमै पाउनुभएछ,’ आफ्नै पटकथा रहेको फिल्मको कास्टिङबारे खगेन्द्रले नै हाँसो गरे । अनुप पनि चूप लागेनन् ।

तार्किक बन्दै बोले, ‘कलाकारलाई सबैभन्दा चुनौती आफू जे होइन त्यो बनेर देखिनुमा हुन्छ रे । मलाई यो चरित्र बनाउन निकै गाह्रो भएको थियो । बाउको चरित्र त गर्ने भइयो, तर हाम्रो उमेरको फरक धेरै छैन । कोसिस गरेपछि स्क्रिनमा त्यस्तो अप्ठयारो चाहिँ देखिएको छैन ।’

उमेरको फरक देखाउन खगेन्द्रले आफूले पनि केही उमेर घटाउने प्रयास गरेको बताएपछि अनुपले बोले, ‘मैले चाहिँ बढाउने कोसिस गरें । कपाल पहिल्यै फुलेकोले पनि त्यति गाह्रो थिएन । त्यसबाहेक शारीरिक हाउभाउमा ध्यान दिएको छु । स्वर केही फरक छ तर अरु नै मान्छेको जस्तो नक्कल गरेर नभई आफ्नै स्वरमा आउन सक्ने बुढयौलीपना दिन खोजेको छु ।’ उनले चरित्रमा खेलाडीको फूर्ति र हिनताबोधको सुस्तता दुवैलाई समात्ने प्रयास गरेको दाबी गरे ।

खगेन्द्रले भने उमेर घटाउनुमा भन्दा अनुप दाइलाई बाउका रूपमा स्वीकार्नतर्फ लागेछन् । ‘गुरु भनेको यसै पनि बाउ समान हुन्छन्,’ उनले आफ्नै चरित्रलाई चित्त बुझाएछन्, ‘आफ्नै गुरु बाउको चरित्रमा भएको हुनाले त्यो सम्बन्ध जोड्न सजिलो भयो । अनुप दाइलाई बाउको स्थानमा राख्न अन्य कलाकार भन्दा मलाई धेरै सहज हुन्छ । फेरि अनुप दाइ मेरो कर्म दिने बुबा त हो नि ।’

‘जंगे’ पछिको लामो समय फिल्म नखेलेका अनुप ‘डमरुको डन्डीबियो’ खेल्न राजी भए । ‘फिल्मको विषयवस्तु पनि नौलो लागेको हो । हामीकहाँ खेलकुदमा फिल्म नै बनेको छैन भन्दा पनि हुन्छ । फिल्म राम्रो बन्यो भने त त्यो राम्रै योगदान हुन्छ र त्यसमा आफू संलग्न छु भन्दा गौरवको अनुभव हुन्छ,’ उनले भने ।
अनुपको बुझाइमा ‘डमरुको डन्डीबियो’ को कन्ट्रोलिङ आइडिया डन्डीबियो हो । त्यसमा उनि र पारिवारिक कथा पनि आएका छन् । बाबु र छोराबीचको सम्बन्ध डन्डीबियोसँगै गाँसिएर आएको उनी बताउँछन् । भन्छन्, ‘रिस, निराशा, प्रेम र थुप्रै भावनात्मक कुरा फिल्ममा छन् । खेलमै मात्र केन्द्रित भई विजयी कथा पनि भन्न सकिन्थ्यो होला तर हाम्रो मुख्य उद्देश्य खेल देखाउनु हैन । खेलको माध्यमबाट मान्छेका इमोसन देखाउनु हो ।’
त्यसो भए लेखक खगेन्द्रले चाहिँ पटकथामा डन्डीबियो खेल घुसाउन किन आवश्यक ठानें त  खगेन्द्र प्रिप्रोडक्सनको सुरुवाती दिनमा धकेलिए । ‘निर्देशक छेतेन (गुरुङ) जीसँग डन्डीबियोको एउटा आइडिया थियो । कथावस्तु अरुनै खालको थियो । यसो विचार गर्दा, डन्डीबियो त हरेक नेपालीले सानोमा खेलेरै आएका हुन् । अहिले बिर्संदै पनि गइयो । यसमा स्टोरी बनाएर फिल्म बनायो भने त रोचक, मौलिक हुन सक्छ भन्ने लाग्यो । खेल खेलाएर मात्रै त हुन्थेन । त्यसमा हजुरबुवादेखि नातिसम्मको तीन पुस्ता डन्डीबियोसँग कसरी जोड्न सकिन्छ भन्दै स्क्रिप्ट लेखिएको हो । त्यसैले यो फयामिली स्पोर्टस् ड्रामा हो,’ खगेन्द्रले लामो कहानी हाले ।

त्यसो भए फिल्म प्रदर्शनपछि यसले डन्डीबियो खेललाई पनि केही फाइदा पुर्‍याउँछ  बोल्ने पालो अनुपको  भने, ‘यसको फिल्मांकनअनुसार, डन्डीबियो पनि रुचिकर खेल रहेछ भन्ने मान्छेले थाहा पाउँछन् ।’ अनुप सानोमा खुब खेल्थे डन्डीबियो । अहिले प्राक्टिसमा जाँदा फेरि खेले । ‘अहिले पनि डन्डीबियो खेल्न साह्रै मज्जा हुँदो रहेछ । हुटहुटी फेरि जगाइदिएको छ । क्रिकेट हेर्छौं । तर डन्डीबियो पनि नियममा बसेर खेल्दा र हेर्दा मज्जा आउने रहेछ,’ अनुपको भनाइमा सहमत हुँदै खगेन्द्रले थपे, ‘स्क्रिप्ट लेख्नुपर्ने भएपछि डन्डीबियोबारे रिसर्च थालियो । यसको नियम पुस्तिका नै रहेछ । चार रेफ्री हुने रहेछन् । यो खेल पर्दामा देख्दा पनि त्यसले साँच्चिकै आकर्षित गर्छ । दशरथ रंगशालाको पछाडि डन्डीबियो खेल्ने ठाउँ पनि रहेछ ।’

पोखरामा २०५६ मा क्षेत्रीय नाटक महोत्सव हुँदै गर्दा खगेन्द्रहरू स्याङजादेखि ‘गोलाद्र्धको कालो आकाश’ सहित सहभागी थिए । अनुपको प्रतिविम्ब थिएटर आयोजक थियो । पछि खगेन्द्र अनुपकै प्रतिविम्ब थिएटर ल्याब्रोटरीका विद्यार्थी भए । अनुपकै निर्देशनमा ‘सिरुमा रानी’ र ‘कथादेश’ गरिसकेका खगेन्द्रले यति बेला भने आफ्नो पटकथामा अनुपलाई समाहित गर्न पाएका छन् । कान्तिपुरबाट