फरहान आउँदै | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

फरहान आउँदै

farhan

काठमाडौं, २२ चैत । अभिनय, फिल्म निर्देशन निर्माण, गायनलगायत विधामा स्थापित बलिउडका फरहान अख्तर नेपाल आउँदै छन् । शनिबार होटल हयात रिजेन्सीमा हुने ‘फरहान लाइभ इन नेपाल’ कन्सर्टका लागि उनी सोही दिन काठमाडौं ओर्लिंदै छन् ।
आफ्नो ब्यान्डसहित उनी दुई घण्टा स्टेजमा रहने आयोजक नाजी इन्टरटेन्मेन्टका प्रवीण श्रेष्ठले कान्तिपुरलाई बताए ।

फरहानले ‘रक अन’, ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘दिल धडकने दो’ लगायत फिल्ममा आफूले गाएका गीतहरू सुनाउनेछन् । कविता वाचन पनि गर्नेछन् । आफू नेपाल आउन आतुर रहेको कुरा उनले फेसबुक स्टाटसमा लेखेका छन् । आयोजकले सार्वजनिक गरेको भिडियोमा पनि उनले काठमाडौंको कन्सर्टलाई यादगार बनाउन सबै पाल्नुहोला भन्दै निम्तो दिएका छन् । ‘हाम्रोमा फरहानका फयान फलोअर धेरै रहेछन्,’ श्रेष्ठले भने, ‘कन्सर्टका लागि सुहाउँदो सेलेब्रिटी लागेकाले नेपाल ल्याउन आँटेका हौं ।’

भारतका वरिष्ठ कवि, गीतकार एवं पटकथा लेखक जावेद अख्तर र अभिनेत्री हनी इरानीका छोरा फरहानले सन् १९९१ को ‘लम्हे’ र ‘हिमालय पुत्र’ मा सहायक निर्देशक भएर फिल्म उद्योगमा पाइला चालेका थिए । २००१ मा ‘दिल चाहता है’ निर्देशन गरेर भारतको नेसनल अवार्ड जित्ने उनलाई फरक धारका फिल्मकर्मी मानिन्छ । आमिरपछिका ‘मिस्टर पर्फेक्सनिस्ट’ समेत भन्ने गरिएको छ । उनले ‘रक अन’, ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘भाग मिल्खा भाग’, ‘दिल धडकने दो’ जस्ता फिल्ममा अभिनय गर्नुका साथै पटकथा लेखेका छन् ।

फरहान आफ्नो हस्की भ्वाइसका लागि चर्चित छन् । युएन वुमेन्स गुडविल एम्बेसडरसमेत रहेका उनी मेन अगेन्स्ट रेप एन्ड डिस्क्रिमिनेसन (मर्द) का संस्थापक हुन् । दुई छोरीका बाबु उनी अमेरिकी अभिनेता रोबर्ट डी नेरोलाई आफ्नो प्रेरणा मान्छन् ।

फरहानकी दिदी जोया अख्तर नामुद फिल्म निर्देशक एवं पटकथा लेखक हुन् भने दोस्री आमा शबाना आजमी कहलिएकी अभिनेत्री भइगइन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);