सिन्डिकेटविरुद्ध सरकार झनै कडा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सिन्डिकेटविरुद्ध सरकार झनै कडा

syndicate

काठमाडौं, २२ बैशाख । सिन्डिकेट गर्न पाऊँ भन्दै यातायात अवरुद्ध पारेका यातायात व्यवसायीविरुद्ध सरकार झनै कडा भएको छ । सरकारले रुट परमिट खारेजसम्मका कदम अगाडि बढाएको छ।

व्यवसायीले देशभर सार्वजनिक यातायात बन्द गराएपछि त्यसविरुद्ध सरकारले रुट परमिट खारेज, बैंक खाता रोक्का, व्यवसायीको सम्पत्ति छानबिन, नयाँलाई रुट परमिट, साना व्यवसायीलाई सम्बोधन, नयाँ बसपार्कस्थित समितिका काउन्टर खाली गराउनेलगायतका कदम चालेको छ ।

सरकारले सार्वजनिक यातायात व्यवसायी समितिका बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा शुक्रबार बसेको बैठकले समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागलाइ निर्देशन दिएको छ । व्यवसायीले यातायात ठप्प बनाएपछि गृहमन्त्री थापाले यातायात व्यवसायी समितिका पदाधिकारीलाई नियन्त्रणमा लिन आदेश दिएका थिए।यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले अटेर गर्दै बन्द गर्ने व्यवसायीविरुद्ध नचुक्ने बताए।

उनले भने, ‘जस्तोसुकै परिस्थिति आए पनि सरकार त्यसलाई पेलेरै अघि बढ्छ, व्यवसायीलाई घुुँडा टेकाएरै छोड्छ, त्यसका लागि सरकार शुक्रबारबाटै एक्सनमा उत्रिएको छ ।’ पहिलो चरणमा नयाँ बसपार्कदेखि पुरानो बसपार्क रुटमा चल्ने २६ वटा माइक्रोबसको रुट परमिट शुक्रबार खारेज गरेको उनले बताए ।

सरकारले यातयात व्यवसायीलाई नयाँ बसपार्कमा टिकट काउन्टरसमेत राख्न नदिने भएको छ । विभागका अनुसार बसपार्कमा कम्पनीमा दर्ता भएका यातायात व्यवसायीले मात्रै काउन्टर राख्न पाउनेछन्।

विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई समितिका काउन्टर खाली गराएर कम्पनीका काउन्टर राख्न निर्देशन दिएको छ । यस्तै नयाँ बसपार्क–पुरानो बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रोबसको रुट परमिट खारेज भएको छ । विभागले शुक्रबार नै ती माइक्रोको रुट परमिट खारेज गरेको हो ।
सिन्डिकेटधारीलाई निस्तेज पार्न सरकारले प्रोप्राइटरी फर्मका रुपमा एउटा सार्वजनिक सवारीसाधन पनि दर्ता गर्ने व्यवस्था मिलाएका छ।

योसँगै एउटामात्रै सवारीसाधन हुने व्यवसायीले पनि फर्ममा दर्ता गराएर पञ्जीकरण गर्न सक्नेछन् । कम्पनी ऐनअनुसार दर्ता गर्दा पाँचवटा सार्वजनिक सवारीसाधन हुनुपर्ने व्यवस्थाले साना व्यवसायीलाई मार परेको गुनासो आएपछि सरकारले नयाँ व्यवस्था गरेको हो ।

प्रहरीले सिन्डिकेटका पक्षमा यातायात बन्द गराउँदै हिँडेका ८२ जना व्यवसायीलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । उनले गृह मन्त्रालयको आदेशमा व्यवसायीलाई समातेर थुनामा राखिएको जानकारी दिए । पक्राउ पर्नेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि छन् । उनी महानगरीय प्रहरी परिसर टेकुको नियन्त्रणमा छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);