देउवाद्वारा एकलाैटी मनोनयन : पौडेल र सिटौलाको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देउवाद्वारा एकलाैटी मनोनयन : पौडेल र सिटौलाको विरोध

congress offc

काठमाडौं, २२ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले एकपक्षीय रूपमा पार्टी उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनीत गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार साँझ निर्वाचित केन्द्रीय सदस्यको बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनको प्रस्ताव गरेका थिए ।

देउवाले प्रस्ताव गरेको उक्त मनोनयन पार्टीविधानविपरीत रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका निर्वाचित केन्द्रीय सदस्यहरू बैठकमै सहभागी भएनन् । पौडेल पक्षका प्रकाशमान सिंह र महेश आचार्य भने बैठकमा सहभागी हुँदै असन्तुष्ट पक्षको धारणा व्यक्त गर्दै निर्णयमा हस्ताक्षरै नगरी बैठकबाट बाहिरिए ।

‘पार्टीभित्र सहमतिको प्रयास हुँदाहुँदै सहमति हुन नसकेपछि लोकतान्त्रिक विधिबाटै पदाधिकारी मनोनीत गरियोे,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मनोनयनबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै भने, ‘सहमतिमै सबै कुरा हुन्छ भन्ने छैन, कहिलेकाहीं बहुमतीय प्रक्रियाले पनि निर्णय हुन्छ ।’

बैठकमा पौडेल पक्षबाट नेता सिंह र आचार्यले पदाधिकारी मनोनयन विधानविपरीत भएको भन्दै बैठकको निर्णयमा हस्ताक्षर नगर्ने बताएका थिए । यसअघि शुक्रबार बिहान पौडेल र सिटौला समूहका नेताको छुट्टै बैठक बसेको थियो । निर्वाचित केन्द्रीय समितिबाट पार्टीको महाधिवेशन भएको २६ महिनापछि हुन लागेको मनोनयन विधानविपरीत हुने ठहर गर्दै बैठकले विधानको उक्त व्यवस्था निलम्बनको माग गर्ने निष्कर्ष निकालेको थियो ।

बैठकमा सहभागी नेता प्रदीप पौडेलले भने, ‘अहिले पदाधिकारी मनोनयनको कुनै तुक छैन तर सभापतिले गर्नु नै परेको खण्डमा पूर्ण केन्द्रीय समितिको बैठकबाट विधानको व्यवस्था निलम्बन गर्न भन्यौं ।’ कांग्रेस विधानअनुसार महाधिवेशनको दुई महिनाभित्र निर्वाचित सभापतिले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनीत गर्न पाउँछ । मनोनयनलाई निर्वाचित सदस्यको बहुमतले पारित गर्नुपर्ने हुन्छ ।’

बैठकको निर्णयप्रति असहमति जनाउँदै नेता प्रकाशमानसिंहले भने, ‘हामी एकपक्षीय निर्णयविरुद्ध छौँ र यो निर्णय तल्लो तहसम्म लग्छौँ । सभापति देउवा पार्टी चलाउन पूर्ण असफल रहे भन्ने हाम्रो निष्कर्ष छ । हामी आजैदेखि पार्टी सुदृढीकरणको अभियानमा लाग्छौं ।’ देउवाका पछिल्लो काम र मनोनयबारे जिल्ला सभापतिहरूको भेला र महासमिति भेलामा मुद्दा उठाउने उनले बताए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);