तत्काल महाधिवेशन गर्न पार्टी सभापति देउवासँग माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तत्काल महाधिवेशन गर्न पार्टी सभापति देउवासँग माग

deuba

काठमाडौं, ११ वैशाख । नेपाली काँग्रेसका युवा नेताहरुले तत्काल महाधिवेशन गर्न पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । पार्टीको जारी केन्द्रिय कार्य समितिको मंगलबारको बैठकमा काँग्रेस युवा नेता गगन थापाले ५० पेज लामो लिखित प्रस्ताव पेश गर्दै तत्काल पार्टीको महाधिवेशन हुनुपर्ने माग गरेका हुन ।

युवा नेताहरु गगन थापा, प्रदिप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङलगायतका नेताहरुको परामर्शमा तयार पारिएको प्रस्तावमा तत्काल महाधिवेशन आयोजना नगरे पार्टीले गम्भीर क्षेति व्यहोर्नुपर्ने चेतावनी समेत दिइएको छ ।

पार्टीले गम्भीर क्षेति व्यहोर्नुपर्ने अवस्था आएकाले तत्काल महाधिवेशन गरेर अघि बढ्नुपर्ने माग गर्नु परेको नेता गगन थापाले बताए । उनले सभापति देउवाकै कारण पार्टीले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको पनि आरोप लगाए ।

प्रस्तावमा विधान विपरित नचल्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ । पार्टी विधान विपरित बनाइएका सबै समिति भंग गरेर पार्टीको महासमिति बैठक बोलाउने र महासमितिले विधान बनाएर तत्काल महाधिवेशनमा जाने आफूहरुको योजना रहेको नेता थापाले स्पष्ट पारे । नेता थापाको प्रस्तावमा एक वर्ष भित्र पार्टीको महाधिवेशन सम्पन्न गरि सक्नुपर्ने उल्लेख गरिएको छ ।

नेता थापाले २०४८ सालयता पार्टी ओरालो लाग्नुको कारणको खोजी गर्न पनि आफूहरुले केन्द्रिय कार्य समिति बैठकमा छुट्टै प्रस्ताव पेश गर्नु परेको स्पष्टिकरण दिएका छन् । उनले पार्टीका तत्कालीन सभापति शुशिल कोइरालाले संविधान जारी गर्न र सभापति देउवाले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेपनि पार्टीको मत बढाउन कुनै योगदान नदिएको आरोप लगाएका छन् ।

पार्टी नेतृत्वकै कमजोरीका कारण पार्टी कमजोर हुँदै आएको नेता थापाको निष्कर्ष छ । पार्टीलाई यो अवस्थाबाट मुक्त गराई सशक्त बनाउन पनि तत्काल महाधिवेशनमा जानुपर्ने आफूहरुको माग गरेको नेता थापाले बताए ।

प्रस्तावमा सरकारसँग सहकार्य गरेरै अघि बढनुपर्नेमा पनि जोड दिइएको छ । संविधान कार्यान्वयनको काममा सरकारसँग सहकार्य गरेर जान पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनु परेको नेता थापाले स्पष्ट पारे ।

मंगलबारको बैठकमा पार्टीका बौद्धिक नेता प्रदिप गिरीले पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्नाको कारणको पनि कारण खोजी गर्न आग्रह गरेका थिए । करिव १ महिनायता जारी काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा नेताहरुले बोल्ने क्रम आजै सकिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बुधबार पार्टी सभापति देउवाले नेताहरुले राखेका जिज्ञासाको जवाफ दिएपछि काँग्रेस केन्द्रिय कार्य समितिको बैठक सम्पन्न हुनेछ । बैठकले पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउने प्रवक्ता शर्माले विश्वास व्यक्त गरे ।

पार्टीलाई एकतावद्ध बनाउन बैठक सफल हुने उनको दावी छ । पार्टीका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधनका कारण काँग्रेस केन्द्रिय कार्य समिति बैठक केही समय स्थगित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);