मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह

काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले जिम्मेवार राजनीतिक नेतृत्वले कुनैपनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य जाँच गर्नुपर्नेमा जोड दिनुभएको हो । सभापति थापाले नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएको उल्लेख गर्दै समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको बताउनु भयो ।

पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिवार बिदाको दिन पनि केन्द्रिय कार्यालय खुला रहने उहाँले जानकारी दिनुभयो । पार्टीका कर्मचारी, पदाधिकारी र स्वयं आफू पनि नेता कार्यकर्ताको सम्पर्कमा रहने भन्दै थापाले संसदीय दलका नेता र सांसदहरूलाई समेत परिचालन गरिएको बताउनु भयो । उहाँले वाह्य चर्चा र आलोचनाभन्दा पनि आफ्नो कर्तव्य र जिम्मेवारीमा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभयो । छलफलमा केन्द्रिय नेताहरूका साथै कोशी र मधेस प्रदेशका प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

Leave a Reply