काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।शुक्रवार प्रथम महिला सविता पौडेलसहित ललितपुरको सानेपास्थित श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिवंगत नेताप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको हो । सो क्रममा उहाँले शोकाकुल परिवारजनप्रति समवेदना समेत प्रकट गर्नुभयो । श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भुमिका निर्वाह गरेको स्मरण गर्नुभयो । राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था र समाजवादप्रतिको निष्ठाका साथै सार्वजनिक जीवनमा नेता श्रेष्ठले पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहने उहाँको भनाइ छ ।




