चीन भ्रमण विगतमा भएका सहमति कार्यान्वयन गराउन केन्द्रित : ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

चीन भ्रमण विगतमा भएका सहमति कार्यान्वयन गराउन केन्द्रित : ज्ञवाली

काठमाडौं, ३ वैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफ्नो चीन भ्रमण विगतमा भएका सहमति कार्यान्वयन गराउन केन्द्रित हुने बताएका छन् । केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेको पारबहन सम्झौता लगायतका दुरगामी महत्वको सम्झौता कार्यान्वयनमा आफ्नो चीन भ्रमण केन्द्रित हुने उनले बताए । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री ज्ञवाली सोमबार राति चीन प्रस्थान गर्दै छन् ।

सोही विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भ्रमणका क्रममा चिनियाँ नेतृत्वसँग नयाँ सरकार, यसले लिएका नयाँ विदेश नीति र प्राथमिकताका विषयमा पनि जानकारी गराउने एजेन्डा रहेको बताए ।

चीनसँग भएको पारबहन सम्झौता, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा जोड दिने, चीनसँगको आवागमनलाई सहज बनाउन विभिन्न नाकाहरु खुलाउने विषयमा पनि छलफल गर्ने मन्त्री ज्ञवालीको योजना छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले यो वर्ष दुई देशका नेतृत्वको भ्रमण गर्ने वर्ष हुने विश्वास व्यक्त गरे । उनले भ्रमणको मिति तय भएपछि त्यसबारे औपचारिक जानकारी गराउने बताए । परराष्ट्रमन्त्री ज्ञवाली प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीका लागि चीन जान लागेका हुन् ।

चीन बसाईका क्रममा उनले चिनियाँ राष्ट्रपति सि जिन पीङ वा प्रधानमन्त्री लि खस्याङ कसलाई भेट्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन । टुंगो लागेपछि आवश्यक जानकारी परराष्ट्र मन्त्रालयले गराउने मन्त्री ज्ञवालीले बताए ।

ओली नेतृत्वको सरकार बनेपछि मन्त्री ज्ञवालीको यो पहिलो चीन भ्रमण हो । चीन बसाईका क्रममा मन्त्री ज्ञवालीले चिनियाँ थिंक टयांकको गोलमेच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली आगामी शनिवार चीन भ्रमण पूरा गरी स्वदेश फर्कने छन् । उनको भ्रमण दलमा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);