एजेन्सी, १६ चैत । अमेरिकी अन्तरिक्ष एजेन्सीले मङगलग्रहतर्फ अनुसन्धानका लागि एउटा नयाँ यान पठाउने तयारी गरेको छ । ‘इनसाइट’ नामक सो यान ५ मेमा प्रक्षेपण गर्ने र नोभेम्वरमा मङ्गल ग्रहमा पुग्ने वैज्ञानिकहरुले बताएका छन्।
मङ्गलग्रहबारे चर्चा धेरै हुने गर्दछ । तर, त्यसबारे जानकारीको अभावमा यथार्थ कुरा सर्वसाधारणले थाहा पाउन सकेका छैनन् । अमेरिका र युरोपियन अन्तरिक्ष वैज्ञानिकहरुले मङगलग्रहका विविध पक्षबारे त्यहाँको वस्तुस्थितिका बारेमा अवगत गराउँदै आएका छन् ।
यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गलग्रहमा विस्तृत अध्ययन गर्न इनसाइट नामक यान आगामी ५ मेका दिन पठाउने तयारी गरेको छ । वैज्ञानिकहरुका अनुसार यो पहिलो यान हुने छ । जसले मङगलग्रहमा नजिकबाट विस्तृत अध्ययन गर्नेछ ।
यो यान नोभेम्वर महिनामा मङ्गलग्रहको सतहमा ओर्लिने बताइएको छ । नासाका अनुसार इनसाइट एक प्रकारको ल्याण्डर हो, जो मङगलग्रहकै सतहमा ओर्लेर विवरणहरु संकलन गर्ने छ । यो अभियानको मुख्य शोधकर्ता ब्रुस बैनर्डटले इनसाइट एक प्रकारको वैज्ञानिक टाइम मशिन भएको बताए ।
इनसाइटले साढे चार अर्ब वर्ष पहिले मङ्गलग्रहको उत्पत्तिको प्रारम्भिक अवस्थाका बारेमा पृथ्वीमा जानकारी पठाउने छ । यसबाट पृथ्वी, चन्द्रमा र सौर्यमण्डलका अन्य ग्रहहरुबारे अध्ययन गरि चट्टान कसरी निर्माण भएको हो भन्ने बारेमा बुझ्न सघाउ पुग्ने वैज्ञानिकहरुको विश्वास छ ।
मङ्गलग्रहको बाहिरी र आन्तरिक भाग पृथ्वी भन्दा कुन ढङ्गले फरक रहेको छ सो बारेमा पनि अध्ययन गरिने छ । नासाका वैज्ञानिकसँग सँगै युरोपका वैज्ञानिकहरु पनि मङ्गलग्रहको अध्ययनको विषयलाई लिएर उत्साहित भएका छन्।
उनीहरु पनि यो अभियानमा सघाउन तयार देखिएका छन् । इनसाइटलाई सफल बनाउन विभिन्न प्रकारका संवेदनशील उपकरणहरु त्यसमा जडान गरिने छ । जर्मन एरोस्पेस सेन्टरले एउटा थर्मल प्रोब तयार गरेको छ ।
जसले ५ मिटर गहिरोमा पुगेर मङ्गलग्रहको तातोपन जाँच गर्ने छ । यसअघि वैज्ञानिकहरुले मङ्गलग्रहको रहस्य पत्ता लगाउनका लागि सन् २००३ मा अपरच्युनिटी नामक रोबर र सन् २०११ मा क्यूरियोसिटी नामक रोबर प्रक्षेपण गरेका थिए।
सौर्यमण्डलको बाहिर जीवनको सम्भावना भएको पृथ्वीझैँ ग्रहको खोजीमा रहेका वैज्ञानिकहरुले नयाँ–नयाँ तथ्य फेला पार्दै गएपछि संसारभर त्यसबारेमा उत्सुकता र चासो बढेको छ ।