भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौंमा

२६ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी छन् । स्वराज बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी हुन् ।

 

स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टा-छुट्टै भेटवार्ता गर्ने छिन् । उलले आजै राष्ट्रिय जनता पार्टीका नेताहरुसँग पनि भेटबार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

१५औं मन्त्रीस्तरीय बैठक आज साँझ सोल्टी होटलमा बस्दै छ । बैठक दुई दिनसम्म चल्ले छ । बैठकको उद्घाटन आज  प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

 

बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, थाइल्याण्ड, म्यान्मार र श्रीलंका सदस्य रहेका छन् । मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा तयारीको लागि बैदेशिक मामिला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औँ बैठक (एसओएम) अहिले जारी छ । बैठकको अध्यक्षता परराष्ट्र सचिव शंकर दास बैरागीले गरेका छन् ।

 

बैठकमा बिमस्टेकको १४औं बैठकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ बिषयमा छलफल गरि एजेन्डा तयार गर्ने छ । जारी बैठकमा भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मार र श्रीलंकाका बैदेशिक मामिला हेर्ने उच्च अधिकारी सहभागी छन् ।

 

बिम्स्टेकको १५औँ मन्त्रीस्तरीय बैठकले मुख्यगरी यातायात सञ्जाल, जलवायु परिवर्तन र पारस्परिक सहयोगमा ठोस निर्णय गर्ने सम्भावना छ ।

 

मन्त्रिस्तरिय बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भुटानका विदेश मन्त्री दाम्चो दोर्जी सहभागी हुने छन् ।

 

थाइल्याण्ड र म्यान्मारबाट भने उपविदेश मन्त्रीको सहभागिता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ देखि नेपालले गर्दै आएको छ ।

 

ताजा समाचार