प्रधानमन्त्री ओली र मोदीबीच चैत २४ गते भेटवार्ता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रधानमन्त्री ओली र मोदीबीच चैत २४ गते भेटवार्ता हुने

oli modi

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही दिन ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकया नायडुसहित भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघिका प्रधानमन्त्रीको भ्रमणमा दिल्लीबाहिरसमेत जाने कार्यक्रम हुने गरेकामा ओली भने २५ चैतमा दिल्लीबाटै स्वदेश फर्किने कार्यक्रम छ । तर, दुवै देशले औपचारिक रूपमा भ्रमणको मिति घोषणा गर्न बाँकी छ ।

दिल्लीस्थित नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारीले प्रधानमन्त्री भ्रमणको तयारी भइरहेको, तर मिति नटुंगिएको बताए । दिल्लीस्थित कार्यबाहक राजदूत भरतकुमार रेग्मी काठमाडौं गएर प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि दिल्ली फर्किंदै छन् । भ्रमणमा हुने औपचारिक एजेन्डाबारे गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

३ असोज ०७२ मा नयाँ संविधान जारीपछि पहिलोपटक प्रधानमन्त्री भएका ओली ७ देखि ११ फागुनसम्म भारतको राजकीय भ्रमणमा गएका थिए । उनीपछिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले पनि राजकीय भ्रमण गरेका थिए । देउवाभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राजकीय भ्रमण गरेकी थिइन् । ‘प्रधानमन्त्री भ्रमणको मिति चाँडै नै घोषणा गर्दै छौँ,’ भारतीय विदेश मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने ।

दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले तीनपटक फोनबाट मौखिक निमन्त्रणा दिएका छन् भने केही दिनअघि कूटनीतिक च्यानलबाट औपचारिक पत्र पठाएका छन् । ओली प्रधानमन्त्री हुनुअघि नै ७ पुस र ६ माघमा भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन वार्ता गरेका थिए । भारतीय राजदूत मञ्जीवसिंह पुरीको सहजीकरणमा टेलिफोन वार्ता भएको थियो ।

ओली प्रधानमन्त्री भएपछि पनि टेलिफोन गरेर निमन्त्रणा गरेका छन् । ओली प्रधानमन्त्री बन्नुअघि नै १८ माघमा विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रूपमा काठमाडौं पठाएर ओलीलाई निमन्त्रणा गर्दै सम्बन्ध सुधारको पहल गरेका थिए । ओली प्रधानमन्त्री भएपछि औपचारिक रूपमा निमन्त्रणा गएपछि द्विपक्षीय कूटनीतिक च्यानलमा कुराकानी भएको थियो ।

दिल्लीस्थित कूटनीतिक स्रोतका अनुसार ओलीको भ्रमणका लागि २४ देखि २६ चैतको मिति भारतले प्रस्ताव गरेको थियोे । तर, नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकूल हुने गरी २३ चैतदेखि २५ सम्म भ्रमण गराउने वचन दिइसकेको छ ।

यस्तो थियो ओलीको पहिलो भ्रमण
७ फागुन ०७२ मा दिल्ली आएका ओली र भारतीय समकक्षी मोदीबीच भोलिपल्ट अर्थात् ८ फागुनमा हैदराबाद हाउसको ‘डेकन स्विट’मा ३५ मिनेट एकान्त वार्ता भएको थियो भने हैदराबाद हाउसकै ‘कन्फरेन्स रुम’मा आधा घन्टा औपचारिक वार्ता भएको थियो । दुवै भेटवार्तामा नेपालका तर्फबाट संविधानमा स्वागत नगरेकोमा चासो व्यक्त भयो भने भारतीय पक्षले सीमांकन चाँडो टुंग्याउन आग्रह गरेको थियो । भेटवार्तामा मोदीले दशकौँको संघर्षपछि नेपालको संविधानको रचना र घोषणा हुनुलाई महत्वपूर्ण उपलब्धि भन्दै तारिफ गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);