बैतडीको दशरथचन्दमा बाँदर आतंक | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बैतडीको दशरथचन्दमा बाँदर आतंक

नरी बडु
बैतडी, २८ फागुन । बैतडीको दशरथचन्दमा बाँदर आतंकले आजित भएका नगरबासीले ‘बाँदर धपाउ अभियान’ सुरु गरेका छन् । खेतबारीको अन्नबालीसँगै घरैभित्र पसेर पस्केको खानासमेत खाइदिन थालेपछि बाँदर लखेट्न अभियान नै चलाउनुपरेको स्थानीयले बताएका छन् ।

दशरथचन्दका नगरबासीलाई बाँदरहरुले यति हैरान पारेका छन् कि बारीमा अन्नबालीसँगै घरभित्रै पसेर खानेकुरा खाइदिन्छन् । यसरी बाँदरले आरामले बसेर खान नदिएपछि जनप्रतिनिधिसहित स्थानीयले बाँदर लखेट्न अभियान नै चलाएका छन् । हातहातमा लठ्ठी, सीटी, भाला, गुलेली र बन्दुक लिएर दशरथचन्द नगरपालिका मेयर नेरन्द्र थापासहित करीब ४ सयको संख्यामा स्थानीय गोठालापानी नजिकैको कलुवाडको मोडमा शनिबार जम्मा भएर अभियान सुरु गरेका हुन् । सदरमुकाम आसपासमा केही वर्षयता बाँदरले बालीनाली, फलपूल, साग, तरकारी र पस्केको खाना समेत खान थालेपछि स्थानीय हैरान भएका छन् ।

दशरथचन्द नगरपालिका ४, ५, ६ र ८ मा बाँदरले बढी आतंक मच्चाएको छ । अलिअलि फल्ने अन्नसमेत बाँदरले खाएपछि जहानपरिवार पाल्न समस्या भएको ती वडाका बासिन्दाको गुनासो छ । बाँदरको आतंकका कारण पछिल्लो समय बालवालिकाहरुलाई एक्लै विद्यालय पठाउन समेत समस्या भएको छ । महिलाहरु एक्लो हिँडिरहेको वेला समेत बाँदरले आक्रमण गर्न थालेको स्थानीय बताउँछन् ।

भारतीय नाका माहाकाली पारी भारतका विभिन्न ठाउँबाट ल्याएर छाडिएका बाँदरले नेपालीलाई सताएका हुन् । ती बाँदरहरुलाई माहाकाली पारीतिर लखेट्न थालिएको नगरबासीले बताएका छन् । बाँदरको आतंक नियन्त्रणका लागि गम्भीर बनिदिन उनीहरुले सम्बन्धित निकायलाई आग्रह पनि गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);