काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताउनु भयो । उहाँकाअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि रास्वपाको प्रतिनिधिमण्डललाई चीन भ्रमणको निमन्त्रणा दिँदै आएको थियो । समय र कार्यतालिका मिलेकाले अहिले भ्रमण सम्भव भएको उहाँले जानकारी दिनुभयो । महामन्त्री आचार्यकाअनुसार भ्रमण मुख्यतः तीनवटा विषयमा केन्द्रित हुनेछ । पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच पारस्परिक सम्बन्ध विस्तार तथा राजनीतिक अनुभव र ज्ञान आदानप्रदान गर्ने विषय रहेको छ । दुई पार्टीबीचको सम्बन्धलाई आधार बनाएर भविष्यमा नेपाल र चीनबीच राज्यका विभिन्न क्षेत्रमा सहकार्यका सम्भावना खोजिने उहाँले बताउनु भयो । ज्ञान, अनुभव र प्रविधि आदानप्रदानदेखि अन्य बहुआयामिक क्षेत्रमा सहकार्यका अवसर पहिचान गर्ने भ्रमणको उद्देश्य रहेको उहाँको भनाइ छ । दोस्रो प्राथमिकतामा विपद्पछिको व्यवस्थापन रहेको छ । नेपाल भूकम्प, बाढीपहिरो तथा हिमाली क्षेत्रमा देखिने ठूला प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख गर्दै आचार्यले चीनले यस्ता विपद्को सामना र व्यवस्थापन कसरी गर्छ भन्ने विषयमा अध्ययन तथा अनुभव आदानप्रदान गरिने बताउनु भयो । विशेषगरी विपद्का बेला उद्धार, राहत, पुनःस्थापना र विपद्पछिको व्यवस्थापनमा चीनले अपनाउँदै आएका अभ्यासबारे जानकारी लिने र त्यस क्षेत्रमा सहकार्यका सम्भावना खोजिने उहाँले जानकारी दिनुभयो । त्यस्तै, तेस्रो विषयका रूपमा व्यापार, व्यवसाय र अर्थतन्त्रसँग सम्बन्धित बहुआयामिक पक्षमा छलफल गरिनेछ । उदाउँदो विश्व आर्थिक शक्तिका रूपमा रहेको चीनबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा विचार आदानप्रदान गरिने आचार्यले बताउनु भयो । उहाँकाअनुसार आर्थिक सहकार्यका सम्भावना पहिचान गरी भविष्यमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा छलफलका लागि आधार तयार गर्ने उद्देश्यसमेत प्रतिनिधिमण्डलको रहेको छ । आचार्यले रास्वपा सभापति वा प्रधानमन्त्रीको आगामी चीन भ्रमणका क्रममा थप ठोस छलफल र सहकार्य अघि बढाउन अहिलेको प्रतिनिधिमण्डलको भ्रमणले आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । १० दिनसम्म चल्ने भ्रमणका क्रममा भएका छलफल र गतिविधिबारे सञ्चारमाध्यमलाई जानकारी गराइने पनि उहाँले बताउनु भयो ।
यस भ्रमणलाई रास्वपाले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावना पहिचान गर्ने अवसरका रूपमा लिएको छ ।




