काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पार्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उहाँले बताउनुभएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले विदेश भ्रमणलाई लिएर रास्वपाका सांसदहरूले उठाउँदै आएका प्रश्नलाई विरोधका रूपमा बुझ्न नहुने बताउनु भयो । उहाँकाअनुसार सांसदहरूले विदेश भ्रमणको औचित्य, त्यसमा राज्यकोषको सदुपयोग भए–नभएको र भ्रमणमा सही व्यक्तिहरू सहभागी भए–नभएको विषयमा प्रश्न उठाएका हुन् । उहाँले कुनैपनि देशको प्रतिनिधित्व गर्दै विदेश जाने व्यक्तिहरूको भ्रमणको उद्देश्य र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाउनु स्वाभाविक भएको बताउनु भयो । विदेश भ्रमणमा राज्यकोषको दुरुपयोग हुन नहुने र भ्रमणको औचित्य पुष्टि हुनुपर्ने विषयमा रास्वपाभित्रैबाट प्रश्न उठ्नु सकारात्मक भएको उहाँको भनाइ छ । आचार्यले चीनको कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको आफ्नो टोलीको भ्रमण पूर्णतः औपचारिक रहेको उल्लेख गर्दै नेपालबाट प्रस्थानदेखि स्वदेश फर्किने समयसम्मको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले नै गर्ने जानकारी दिनुभयो । त्यसैले भ्रमणमा नेपालको राज्यकोष खर्च नहुने उहाँले स्पष्ट पार्नुभयो । यसअघि पनि रास्वपाका सांसदहरूले विभिन्न सरकारी तथा राजनीतिक भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाउँदै आएका थिए । महामन्त्री
चीन भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले दुई देशका सत्तारुढ दलबीचको सम्बन्ध विस्तार, विपद्पछिको व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम छ । यसैबीच, सञ्चारकर्मीले नेपालले अवलम्बन गर्दै आएको एक चीन नीतिको सन्दर्भमा पछिल्लो समय दलाई लामाका प्रतिनिधि तथा अन्य तिब्बती प्रतिनिधिहरू नेपाल आउने गरेको विषयमा पनि जिज्ञासा राखेका थिए । उक्त प्रश्नमाथि भने उपलब्ध भनाइमा महामन्त्री आचार्यको जवाफ समावेश छैन ।




