ओलीले गरे मन्त्रिपरिषद् विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं, १५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व समालेको ११ दिनपछि सोमबार सत्तासाझेदार नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका छन्।

एमाले र माओवादीबीच पार्टीएकता गर्ने सैद्धान्तिक सहमतिपछि पनि मन्त्रालय र मन्त्री छनोटमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।दोस्रोपटक प्रधानमन्त्रीको सपथ लिगेकै दिन फागुन ३ गते सरकारमा दुई नेतालाई सहभागी गराएका ओलीले सोमबार एमाले र माओवादीका दुईदुई नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराएका हुन् । विस्तारसँगै मन्त्रिपरिषद् सातसदस्यीय बनेको छ।

पहिलोपटक सरकारको नेतृत्व गर्दा आधादर्जन उपप्रधानमन्त्री बनाएका ओलीले यसपटक भने उपप्रधानमन्त्री नबनाउने संकेत गरेका छन् । पार्टी महासचिव ईश्वर पोखरेल र माओवादीका पूर्वमहासचिव रामबहादुर थापालाई उनले मन्त्रीकै रुपमा सरकारमा सहभागी गराएका छन् । पोखरेल र थापालाई ओलीले क्रमशः रक्षा र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्।

पोखरेल पहिलो संविधानसभा विघटनको पूर्वसन्ध्यामा बाबुराम भट्टराई नेतृत्व सरकारमा उपप्रधानमन्त्री थिए । भट्टराई नेतृत्वको सरकारलाई सर्वपक्षीय बनाउँदै संविधान जारी गर्ने सहमतिपछि कांग्रेस र एमाले उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका थिए । संविधान निर्माणमा दलीय सहमति जुट्न नसकेपछि भने पोखरेल सरकारमा सहभागी भएको १३ दिनमै बाहिरिएका थिए । त्यसअघि २०५९ मा पोखरेल शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी थिए।

माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा प्रभावकारी भूमिका निर्वाह गरेका थापा माओवादी शान्तिप्रक्रियामा आएसँगै २०६५ साउनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गठन भएको सरकारमा रक्षामन्त्रीका रुपमा सहभागी भएका थिए । तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने थापाको अडान कार्यान्वयनसँगै दाहाल सरकार संकटमा परेको थियो । दाहाल नेतृत्व सरकारको निर्णयलाई तत्कालीन राष्ट्रपति रामवरण यादवले कांग्रेस र एमालेको आडमा उल्ट्याएका थिए । त्यस क्रममा सत्तासाझेदार एमालेले पनि साथ नदिएपछि दाहालले प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए ।
माओवादी नेता मातृकाप्रसाद यादव र एमालेकै युवराज खतिवडालाई पनि ओलीले सरकारमा सहभागी गराएका छन्।

यादवले उद्योग, वाणिज्य तथा आपूर्ति र खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी शान्तिप्रक्रियामा आएसँगै स्थायी कमिटी सदस्य यादव नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा सहभागी थिए । वन मन्त्रालयको नेतृत्व समाल्दा रक्तचन्दन तस्करी नियन्त्रण गरेको भन्दै चर्चामा आएका यादव मातहतका कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै विवादमा तानिएका थिए ।नवनियुक्त मन्त्रीले सोमबारे पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।यसअघि ओलीले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्रिपरिसद्मा सहभागी गराएका थिए । पण्डितलाई वातावरण र थापालाई समाज कल्याण मन्त्रीका रुपमा कार्यरत छन् ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);