शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल

काठमाडौँ ।

नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने जिम्मेवारीबाट वर्तमान सरकार पन्छिन नमिल्ने बताउनुभएको छ ।शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सम्बोधन गर्दै उहाँले विगतका राजनीतिक दलले शुरु गरेको प्रक्रिया भन्दै वर्तमान सरकारले जिम्मेवारीबाट उम्किन नमिल्ने बताउनुभएको हो । संविधानमा नै शान्ति प्रक्रियाको विषय समेटिएको उल्लेख गर्दै उहाँले संविधान स्वीकार गर्ने वर्तमान सरकारले पनि त्यसको दायित्व लिनुपर्ने स्पष्ट पार्नुभयो । भुसालले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्दा शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादी संघसंस्थासँग समन्वय गर्नुपर्ने बताउनु भयो । आयोग गठन मात्रै गरेर नहुने भन्दै उहाँले त्यसलाई पारदर्शी र जवाफदेही ढङ्गले अघि बढाउने इमान्दार प्रतिवद्धता सरकारमा हुनुपर्ने बताउनु भयो । उहाँले सरकारको गम्भीरतामाथि नै प्रश्न उठाउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गर्नु राज्यको दायित्व भएको बताउनु भयो । सडकमा बसेर आयोग गठन गर्न नसकिने भन्दै उहाँले शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारी राज्यले नै पूरा गर्नुपर्ने बताउनु भयो ।

दक्षिण अफ्रिकामा नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको नेतृत्वमा संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाइएको उदाहरण दिँदै भुसालले नेपालमा पनि राजनीतिक सहमति र साझा प्रतिवद्धताका आधारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनु भयो । उहाँले संक्रमणकालीन न्यायको विषयमा नेपाली काँग्रेसले सरकारलाई पूर्ण समर्थन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तर सरकार गठनका लागि आवश्यक अंकगणित र जनताका मुद्दा समाधान गर्ने विषय फरक रहेको उहाँको भनाइ छ । सत्ता गठन र टिकाउन अंकगणितीय बहुमतले काम गरे पनि जनताका मुद्दा, लोकतन्त्र र शान्ति प्रक्रियालाई परिणाममुखी बनाउन त्यसले मात्रै नपुग्ने भुसालले बताउनु भयो । शान्ति प्रक्रियालाई सत्ता समीकरणको हिसावले नभई राजनीतिक सहमति र साझा जिम्मेवारीका आधारमा टुंग्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply