सरकारमा सहभागी हुने कसरत गरेका मधेशवादी दलको सत्तायात्रा अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारमा सहभागी हुने कसरत गरेका मधेशवादी दलको सत्तायात्रा अनिश्चित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् तेस्रोपटक विस्तारको तयारी गर्दा सरकारमा सहभागी हुने कसरत गरेका मधेशवादी दलको सत्तायात्रा अनिश्चित बनेको छ ।

pm kp oli

काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् तेस्रोपटक विस्तारको तयारी गर्दा सरकारमा सहभागी हुने कसरत गरेका मधेशवादी दलको सत्तायात्रा अनिश्चित बनेको छ ।

तेस्रोपटक मन्त्रिपरिषद् विस्तारपूर्व मधेशवादी दलसँग पटक पटक छलफल गरेका प्रधानमन्त्री ओलीले पछिल्लो पटक छलफलमा समय नदिएपछि मधेशवादी दलको सत्तायात्रा अनिश्चित बनेको हो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पहिलेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेशको मुख्य विरोधीका रुपमा लिने संघीय समाजवादी फोरम र राजपा नेपालले ओलीले सरकारको नेतृत्व सम्हालेपछि सत्तायात्राका लागि पटक पटक वार्ता गरे ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनमा लचकता देखाउने बताएपछि फोरम र राजपा नेपालले सरकारमा सहभागी हुन तत्परता मात्र देखाएनन्, प्रधानमन्त्री ओलीलाई विश्वासको मत नै दिए । संविधान संशोधन गर्ने ओलीको वचनपछि फोरमले पार्टीको बैठक राखेर सरकारमा सहभागी हुने निर्णय गर्यो । तर ओलीले तेस्रो पटक विस्तार गरेको मन्त्रिपरिषद्मा फोरम र राजपा दुवै छुटे । फोरमका नेताहरु आफूहरु आतुर रहेपनि प्रधानमन्त्रीले चासो नदेखाएका कारण सत्तायात्रा रोकिएको बताउँछन् ।

तेस्रो पटकको विस्तारपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार र संविधान संशोधनको विषयलाई लिएर फोरम र राजपासँग छलफल गरेका छैनन् । प्रधानमन्त्रीले छलफल नगर्दा फोरम र राजपाको सत्तायात्रा अनिश्चित बनेको छ । फोरम आतुर रहेपनि राजपा भने आफूले उठाउँदै आएका मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने बताउँछ ।

सरकारकै मन्त्री पनि दुई मधेशवादी दललाई सरकारमा सहभागी गराउने/नगराउने बारेमा स्पष्ट छैनन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादवले मन्त्रिपरिषद् विस्तारका बारेमा अनभिज्ञता प्रकट गरे । प्रधानमन्त्री ओलीले मधेशवादी दलका लागि सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खाली राखेका छन् । यद्यपि, एमाले र माओवादी केन्द्रको गठबन्धनसँग वहुमत रहेकाले सरकारलाई फोरम र राजपालाई फकाउनुपर्ने वाध्यता छैन् ।
सरकारसामु वाध्यता नभएकै कारण दुई मन्त्रालय खाली रहँदा पनि, निर्णय गरिसकेको अवस्थामा समेत फोरमको सत्तायात्रा अनिश्चित बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);