पश्चिम अफ्रिकी मुलुक कोट डी’ आइभोर (आइभोरी कोस्ट) को उत्तर–पश्चिमी क्षेत्रमा सोमवार एउटा अन्तरशहर चल्ने यात्रुवाहक बस नदीमा खस्दा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् । यातायात तथा समुन्द्री मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ओडिएनबाट यामुसुक्रोतर्फ जाँदै गरेको उक्त बस तुबा–बियान्कुमा सडकखण्डमा पर्ने बाफिङ नदीमा खसेको हो । ६९ जना यात्रु र चालक दलका सदस्य सवार रहेको उक्त बस सडकबाट अनियन्त्रित भई नदीमा खसेको बताइएको छ । दुर्घटनाको ठोस कारण अहिलेसम्म खुल्न सकेको छैन । मन्त्रालयका अनुसार बेपत्ता भएका यात्रुहरूको खोजी र उद्धारका लागि घटनास्थलमा टोलीहरू परिचालन गरिएको छ । हाल जारी वर्षायामका कारण सडकमा जोखिम बढ्ने भन्दै मन्त्रालयले सम्पूर्ण सडक प्रयोगकर्ताहरूलाई उच्च शतर्कता अपनाउन र ट्राफिक नियमहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।




