सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन

काठमाडौं ।

नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति आक्रोश व्यक्त गर्नुभयो । सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना भएको सन्दर्भ उल्लेख गर्दै प्रमुख सचेतक थापाले दुर्घटना भएको लामो समय बितिसक्दा समेत राज्यका सम्बन्धित निकायबाट घटनाको आधिकारिक विवरण र यकिन तथ्य आउन नसक्नु खेदजनक रहेको बताउनु भयो । उहाँले सरकारको राजनीतिक नारा र कर्णालीको वास्तविक अवस्थाबीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले कर्णालीलाई ‘स्वर्गकी रानी’ र ‘सुइना’ (सपना) भनेर सम्बोधन गरे पनि व्यवहारमा जनताले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उहाँले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । प्रमुख सचेतक थापाले कर्णालीमा भइरहेका सडक दुर्घटनालाई केवल संयोग मात्र मान्न तयार नरहेको बताउँदै यसलाई राज्यको चरम लापरवाही र बेवास्ताको परिणाम भएको जिकिर गर्नुभयो । उहाँले तत्काल उद्धार कार्यलाई तिब्रता दिन र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस योजनासहित कदम चाल्न सरकारसँग माग गर्नुभयो ।

नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गको जीर्ण अवस्था र त्यहाँ भइरहेका सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद बरालले कर्णालीका जनताले सडक अभाव र असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै राज्यको उदासिनताप्रति आपत्ति प्रकट गर्नुभयो । कर्णालीमा पछिल्लो समय भएको दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अज्ञात रहेको भन्दै उहाँले उद्धार कार्य प्रभावकारी नभएको गुनासो गर्नुभयो ।

उहाँले कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ को संज्ञा दिँदै यसलाई सुरक्षित राजमार्गका रूपमा विकास गर्न माग गर्नुभयो । हेलिकप्टरमार्फत प्रभावकारी खोजतलासका लागि आग्रह गर्दा पनि पुरानो प्रविधि र न्युन जनशक्ति परिचालन गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद बरालले प्रधानमन्त्रीका पुराना प्रतिवद्धता र नाराहरूलाई स्मरण गराउँदै कर्णालीको वास्तविकता र सरकारी प्रचारबाजीमा ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो । उहाँले कर्णालीका बासिन्दालाई पनि सुरक्षित रूपमा हिँडडुल गर्न पाउने वातावरण सुनिश्चित गर्न र सडक पूर्वाधारमा ठोस सुधार ल्याउन सरकारसँग माग गर्नुभयो । साथै, दुर्घटनामा ज्यान गुमाएका जोखे तिरुवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता चार जनाको शिघ्र खोजीका लागि उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार