सांसदले बुझाएको स्पष्टिकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने : विशाल भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सांसदले बुझाएको स्पष्टिकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने : विशाल भट्टराई

नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टिकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका छन् । नेकपा (एमाले)ले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टिकरण सोधेको थियो ।

बिहीबार न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिदैँ प्रमुख सचेतक भट्टराईले सांसदहरुले स्पष्टिकरण बुझाउन थालेको र प्राप्त स्पष्टिकरणको विश्लेषण गरेर थप कारबाही अगाडी बढाउने बताए । केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टिकरण पत्र पठाएको बताए।

पार्टीमा समानान्तर गतिविधि गर्ने, सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वलाई खुइल्याउने प्रयास गर्ने र कर्णाली प्रदेशको ह्वीप उलङ्घन गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण सांसदहरुलाई स्पष्टिकरण सोधिएको भट्टराईले बताए ।

उनले भने ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ । सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरु भएका छन् । कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ । हाम्रो पार्टीलाई समाप्त गर्न चाहाने केही व्यक्तिहरुसँग पटक पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरु हुने, अध्यारा कोठाहरुमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिड्ने । हामी ह्वीप उलङ्घन गरेर पनि तपाईलाई जिताउँछौँ जसरी पनि केपी ओलीलाई सरकारबाट हटाउनुप¥यो भन्ने प्रकारका कुराहरु जसरी गर्दै हुनुहुन्छ त्यो एककिसिमको लज्जाबोध गर्नुपर्ने कुरा हो । हामीले त्यसलाई स्पष्ट पार्न उहाँहरुलाई भनेका छौँ । स्पष्टिकरण बुझाउने क्रम जारी नै छ । त्यसको विश्लेषण गरेर हामी थप कारबाही अगाडी बढाउँछौँ ।’

प्रमुख सचेतक भट्टराईले कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उलङ्घन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले निस्कासन गर्ने पनि बताए ।

उनले भने ‘कर्णाली प्रदेशका पाँच जना विधेयकहरुले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टिकरण सोधेको छ । उहाँहरु माथि पार्टीले कारबाही गर्छ । पार्टीले निष्काशन गर्छ । यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैँनौ ।’

पार्टीले स्पष्टिकरण सोधेसँगै माधव नेपालपक्षका सांसदहरुले स्पष्टिकरण दिने निर्णय गरेका थिए । हाल सांसदहरुले स्पष्टिकरण बुझाउन थालेका छन् । यता, पार्टीको विवाद समाधानको सम्बन्धमा बुधबार र बिहिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालले दुईपटक सम्म भेटवार्ता गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);