विप्लवले गरेको बन्दमा देशभर कहाँ के भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

विप्लवले गरेको बन्दमा देशभर कहाँ के भयो ?

काठमाडौं, ८ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौ उपत्याकामा बन्दको असर नपरेपनि विभिन्न जिल्लामा सामान्य प्रभाव परेको छ । सार्वजनिक यातायात कम चल्दा यात्रुहरु पैदल यात्रा गर्न बाध्य भए ।

बन्दका क्रममा काठमाडौको तीनकुनेमा शंकास्पद बस्तु भेटिएको थियो । सो शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज गरेको छ । त्यो बाहेक काठमाडौमा बन्दको खासै प्रभाव परेन ।

उता झापाको मेचीनगर–७ प्यारीभिट्टा बसपार्कमा राखिएको बम सेनाले डिस्पोज गरेको छ । त्यस्तै नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै झापामा दुई वटा गाडिमा आगजानी गरेका छन् ।

यस्तै, कपिलवस्तुमा गुडिरहेको बसमा बम प्रहार भएको छ । काठमाण्डौबाट दाङ जाँदै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ ।

कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली चोकमा बसमा अज्ञात समूहद्धारा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवारी १२ जना यात्रु घाइते भएका छन् । काठमाण्डौबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नम्बरको बसमा बम प्रहार भएको हो ।

घाइतेहरुलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।

उता कास्कीको विजयपुर खोलाको पुल नजिक बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । शंकास्पद वस्तु देखिएपछि पुल नजिकै पुगेर पत्रकार घनश्याम पाण्डेले फोटो खिच्ने क्रममा विस्फोट हुँदा पाण्डेसहित प्रहरी जवान कुलबहादुर खत्री सामान्य घाइते भएका हुन् ।

उता, बाग्लुङको पुरानो बसपार्कमा अज्ञात समूहले राखेको बम पनि नेपाली सेनाले डिस्पोज गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले कञ्चनपुरको महेन्द्रनगरमा एक जिपमा तोडफोड गरेका छन् । बुढीगंगा जलविद्युत आयोजना अछामको बा १५च ७५८ नम्बरको जिपमा तोडफोड गरेको हो । जिपमा तोडफोड गरेको आरोपमा प्रहरीले नेकपाका कञ्चनपुर सेक्रेटरी सहित तीन जनालाई पक्राउ गरेको छ । बन्दका कारण भारतबाट नेपाल फर्किएका मजदुर समस्यामा परेका थिए ।

बन्दका कारण इलाममा शैक्षिक संस्था र यातायात चल्न सकेनन् । इलाम सदरमुकामबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु चल्न नसकेको हो ।

उता दार्चुलामा पनि बन्दको न्युन प्रभाव परेको छ । बन्दमा अप्रिय घटना हुन नदिन बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो । विराटनगरमा आइतबार भएको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपाले बन्दको आह्वान गरेको हो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीले मंगलबार घोषणा गरेको बन्द सफल भएको विज्ञप्तीमार्फत जनाएको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बन्द सफल भएको दाबी गरेका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);