काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको संवद्र्धित युरेनियम नष्ट गर्ने विभिन्न विकल्पहरूका बारेमा जानकारी दिनुभएके छ । पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानले उक्त युरेनियम अमेरिकालाई हस्तान्तरण गरेपछि, सोही स्थानमा वा अन्य कुनै ‘स्वीकार्य स्थान’मा त्यसलाई नष्ट गरिने बताउनु भयो । यद्यपि, ट्रम्पले कति परिमाणको युरेनियम नष्ट गरिने हो भन्नेबारे कुनै स्पष्ट जानकारी दिनुभएको छैन । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले यसअघि नै विभिन्न निरीक्षण संयन्त्रमार्फत इरानको आणविक गतिविधिहरूको नियमित अनुगमन गर्दै आएको छ ।
यसै सन्दर्भमा, इरानको अर्ध–सरकारी समाचार संस्था तस्निमले तेहरान आफ्नो संवद्र्धित युरेनियम विदेश पठाउन सहमत भएको भन्ने दाबीको खण्डन गरेको छ । साउदी अरबको ‘अल हदथ’ टेलिभिजनले इरान आफ्नो क्षेत्रबाट उच्च संवर्धित युरेनियम हटाउन तयार रहेको भनी समाचार प्रशारण गरेपछि तस्निमले त्यसको कडा शब्दमा प्रतिवाद गरेको हो । तस्निमले तेहरान र वासिङ्टनबीच हुनसक्ने सम्भावित समझदारी पत्रका बारेमा सार्वजनिक विवरणहरू असत्य भएको उल्लेख गरेको छ ।
अर्कोतर्फ, द वासिङ्टन पोस्टले एक इरानी अधिकारीलाई उद्धृत गर्दै सम्भावित सम्झौताका केही शर्तहरू उल्लेख गरेको छ । जसअनुसार प्रस्तावित सम्झौताको पहिलो चरणमा अमेरिकाले रोक्का राखेको इरानको १२ अर्ब अमेरिकी डलर बराबरको सम्पती फुकुवा गर्ने, हर्मज जलडमरूमध्यमा बिछ्याइएका सुरुङ हटाउने कार्य शुरु गर्ने र अमेरिकी नाकाबन्दी अन्त्य गर्ने विषय रहेका छन् । यद्यपि यो सम्झौता आणविक सम्झौताको हिस्सा भने नभएको ती इरानी अधिकारीले स्पष्ट पारेका छन् ।




